प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार भए : माधव सापकोटा
काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन्।
आइतवार संसद भवनबाहिर पत्रकारहरुसँग उनले प्रधानमन्त्रीविरुद्ध यस्तो आरोप लगाएका हुन्। उनले तीनकुनेमा भएको व्यवस्थाविरोधी घटनाबारे प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने माग गरे।
उनले गणतन्त्रवादीहरुलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनुपर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको जिकिर गरे। उनले प्रधानमन्त्रीले उच्छृंखलता र अराजकतालाई मलजल गरेको आरोपसमेत लगाए।
‘आज प्रधानमन्त्रीले संसदमा आएर सबै घटनाक्रमबारे देशलाई अपिल गर्ने, गणतन्त्रवादीहरुलाई एकताबद्ध गराउने र यो व्यवस्थाबारे विश्वास आर्जन गर्ने एउटा ठूलो अवसर थियो। यति ठूलो कुरा संसदमा आएर नगरेर प्रधानमन्त्री कहाँ अल्मलिरहनुभएको छ?‚’ उनले भने, ‘यसले के देखाउँछ भने यो व्यवस्थालाई रक्षा गर्नका निमित्त, सुदृढ गर्नका निमित्त, विधि मूल्य मान्यतालाई सुदृढ गरेर अगाडि लैजानका लागि प्रधानमन्त्री जिम्मेवार हुनुहुन्न र यो अराजकता‚ बेथिति र उच्छृंखलतालाई थप मलजल गर्ने काम गरी राख्नुभएको छ।’
व्यवस्थाविरोधी तीनकुने घटनामा मान्छेलाई थुनेर आगो लगाएर हत्या हुँदासमेत प्रधानमन्त्रीले कुनै सम्बोधन नगरेर लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउने अवसर गुमाएको उनको भनाइ छ।
‘हामीले के भन्यौ भने प्रधानमन्त्री आउनुपर्यो, हामी अझै केही घण्टा कुर्न तयार छौँ। प्रधानमन्त्री आउनुभएपछि हाम्रो कुनै अवरोध हुँदैन‚’ उनले भने‚ ‘र प्रधानमन्त्रीले यी सबै पछिल्ला जे अराजकता, उच्छृंखलता र व्यवस्थाविरुद्ध जुन प्रकारका लुटपाट मच्चाइयो, मान्छेहरुलाई थुनेर आगो लगाएर हत्या गर्ने स्थिति सिर्जना भयो यी सबैबारे प्रधानमन्त्री त आज हामीले नबोलाए पनि आउनु पर्थ्यो।’
सांसद सापकोटाले प्रधानमन्त्री र सत्तापक्ष असहिष्णु, गैरजिम्मेवार, घटनक्रम र व्यवस्थाप्रति संवेदनशील नभएको आरोपसमेत लगाए। राजनीतिक परिस्थिति थप जटिल बन्दै गएको उनको भनाइ छ। थाहा खबर
