प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छ : ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन्।
प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपाल (पिन) को मंगलबार ललितपुरमा आयोजित १० औँ महाधिवेशनमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले मजबुत संरचना निर्माणमा इन्जिनियरहरूको ध्यान जानुपर्नेमा जोड दिए।
“हाम्रो देशमा पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ, इन्जिनियरले यो परिवेशलाई बुझेर भौगर्भिक अवस्थाको मूल्याङ्कन गरी सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ, खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन, कानुनी कुरामा भएका समस्या सुधार गर्न सुझाव दिनुहोला, सरकारले त्यसमा ध्यान दिने छ,” उनले भने ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न लागिपरेको उल्लेख गर्दै मुलुकमा प्रतिपक्षको भूमिका रचनात्मक र सकारात्मक हुनुपर्ने बताए।
वि.सं २०४६ पछि देशमा विकासको गति तीव्र रुपमा अगाडि बढेको र आफू प्रधानमन्त्री हुँदा भुकम्पले देश थिल्थिलिएको अवस्थामा ‘विल्ड वेटर’को नारा दिएर पुननिर्माणमा जुटेको उनले बताए।
“पूर्वाधारको विकास विना विकास सम्भव छैन, पूर्वाधारको विकासले बजारको सृजना गर्छ, उद्यमशीलता गर्छ ।” उनको भनाइ थियो । थाहा खबर
