मोरङका चारवटा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
विराटनगर : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मोरङका ७ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारी अगाडि देखिएको छ।
हालसम्म सार्वजनिक भएको परिणामअनुसार त्रिभुवन विश्वविद्यालयका दुई आङ्गीकसहित ४ वटामा अखिल क्रान्तिकारी विजयी भएको छ। यस्तै एउटामा नेविसंघ र दुई वटामा अनेरास्ववियुले जित हासिल गरेको छ।
मोरङका ३ आंगिक र ५ सामुदायिक क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो। तीमध्ये केही स्थानको मतगणनासमेत सम्पन्न भइरहेको छ।
मोरङका तीन अंगीक क्याम्पसमध्ये विराटनगरको डिग्री क्याम्पसमा र विराटनगर नरसिंह क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ। डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रीतम साहको प्यानलै निर्वाचित भएको छ भने नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन्।
यस्तै, मोरङको कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भएका छन्। मोरङको मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरेको प्यानलै निर्वाचित भएको छ।
यस्तै, केरावारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा निर्वाचित भएका छन्। सुन्दर हरैचा स्थित सुकुना बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन्।
पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई निर्वाचित भएका छन्। यता, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पछिल्लो मतपरिणामअनुसार अखिल क्रान्तिकारी नै अगाडि देखिएको छ। थाहा खबर
