हिमतालहरूको संरक्षणका लागि बजेट निर्माण गर्छौंः मन्त्री खड्का
काठमाडौं : उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले हिमतालहरूको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताएका छन्।
सोमवार ललितपुरमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहलाई सम्बोधन गर्दै उनले बजेटमा समावेश गरेर हिमतालहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए।
यसका लागि आवश्यक प्रबन्ध मिलाउन सचिवहरूलाई निर्देशन दिए। उनले हिमताल फुटेपछि विकराल समस्या आउने भन्दै यसमा समयमै ध्यान दिनुपर्ने बताए। उनले यिनै समस्या समाधानका लागि सरकारले संसदबाट जलश्रोत विधेयक चाँडै पारित गर्ने तयारी गरेको बताए।
जलवायु परिवर्तनका असर न्यूनिकरण गर्दै जलश्रोतको दिगो उपयोगका लागि अन्तर्राष्ट्रिय साझेदारीलाई बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए। जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थाहरूसँग सहकार्य गरी नेपालका जलश्रोतको दिगो व्यवस्थापन विकासका लागि सुनिश्चित गर्ने जिकिर गरे।
मन्त्री खड्काले जलश्रोतको संरक्षण तथा मौसम परिवर्तनको प्रभाव न्यूनिकरण गर्न दीर्घकालीन नीति निर्माण हुनु आजको अपरिहार्य आवश्यकता भएको बताए। सरकारले सञ्चालन गरिरहेको जल तथा मौसम सम्बन्धी पूर्वअनुमान प्रणालीहरू डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपत्कालीन व्यवस्थापन प्रणाली स्थापना गर्ने सरकारको प्राथमिकता रहेको बताए। थाहा खबर
