राजावादी र प्रतिगामीको षड्यन्त्र विफल पार्न एकजुट बनौँ : समाजवादी मोर्चा
काठमाडौँ : समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्र विफल पार्न जनतालाई एकजुट हुन आह्वान गरेको छ।
शनिवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्र विफल पार्न जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको बताए।
मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठकराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण जनतामा निराशा पैदा भएको आरोप लगाएको छ।
उनले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको बताए। सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित रहेको बताए। अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसद्मा दर्ता भएका महत्त्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा उद्यत रहेको बताए।
विश्वकर्माले भने, ‘गणतन्त्रविरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्त्वहरू लागिपरेका छन्। पुनरुत्थानवादी षड्यन्त्रका विरुद्ध चैत १५ गते काठमाडौँमा विशाल विरोध प्रदर्शन सहितको जनसभा आयोजना गरिएको छ। सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौँ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्त्वहरू लागिपरेको जिकिर गरे। थाहा खबर
