लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा अघि बढेका छौँ : सभामुख
काठमाडौं : सभामुख देवराज घिमिरेले नेपाल उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा इकोनोमिक मिडिया एशोसिएशन नेपाल(इमान) को दोस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल संक्रमणकालीन अर्थतन्त्रको चरण पार गरेर उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताए। उनले विगतका आर्थिक नीतिहरुलाई परिमार्जन गर्दै नयाँ सम्भावनाहरु खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य हुनु अति आवश्यक रहेको बताए।
उनले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने जिकिर गरे।
उनले कुनै पनि कानूनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुने बताए।
सभामुख घिमिरेले भने, ‘विगतका आर्थिक नीतिहरुलाई परिमार्जन गर्दै नयाँ सम्भावनाहरु खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य हुनु अति आवश्यक छ।’
सभामुख घिमिरेले नेपालको दिगो आर्थिक समृद्धि हासिल गर्न स्थिर नीति, लगानीमैत्री वातावरणमा पारदर्शी वित्तीय प्रणाली र नवीनतम प्रविधिको समुचित प्रयोग जरुरी रहेको बताए।थाहा खबर
