कुलमानको शून्य अंकबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सेयर गर्नुहोस

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको विषयमा जवाफ दिन सरकारलाई सभामुखले रुलिङ गरेका छन्। बुधबारको प्रतिनिधिसभामा विपक्षी दलहरूले घिसिङले पाएको अंकबारे सरकारसँग जवाफ मागेका थिए।

विपक्षीहरूले एक स्वर भएर त्यसबारे रोष प्रकट गर्दै जवाफ मागेपछि यो विषयमा रुलिङ गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका हुन्।

‘आजको बैठकमा सबै प्रतिपक्षहरूबाट राखिएको विषय तथा माननीय सदस्यहरूले आकस्मिक, शून्य समय र विशेष समयमा उठाउनुभएका विषयमा समेत प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ प्रति सम्बन्धित माननीय मन्त्रीहरूको म गम्भीर ध्यानाकर्षण गराउँदछु । साथै उठेका विषयहरूमा सभालाई जानकारी गराउन म निर्देश गर्दछु,’ सभामुखले भने।

प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ । उपनियम २ मा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्ने प्रावधान छ। यसअनुसार सभामुख घिमिरेले जवाफ दिन मन्त्रीहरूलाई निर्देश गरेका हुन्। थाहा खबर

Facebook Comments Box