कांग्रेसले बोलायो शीर्ष नेताको बैठक
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा संसदमा रोकिएका संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरुलाई फास्ट ट्रयाकमा अघि बढाउनेबारे छलफल हुनेछ। साथै पार्टीका भ्रातृ संस्थाको महाधिवेशनबारे पनि बैठकमा छलफल हुनेछ ।
चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको कांग्रेसले थप सहजीकरणबारे आजको बैठकमा छलफल गर्नेछ।योबाहेक संसदमा अड्किएका ६ वटा अध्यादेशलाई कसरी पारित गराउने भन्ने विषय पनि छलफलको एजेण्डा राखिएको छ।
राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि अध्यादेश एक महिनासम्म पनि अघि बढाउने आँट सरकारले गरेको छैन। सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी नेपालले असहयोग गर्ने भने पछि सरकार पछि हटेको हो।
अध्यादेश पास गराउने उपायबारे छलफल गर्न आजै साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय संयन्त्रको बैठक बोलाएका छन्। थाहा खबर
