पूर्वराजालाई संसद्‌बाट प्रधानमन्त्री बन्न वामदेवको चुनौती

सेयर गर्नुहोस

काठमाडौं : संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती प्रस्तुत गरिएको छ। राष्ट्रियसभा सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीति गरी संसद्‍बाट प्रधानमन्त्री बन्न शाहलाई सुझाव दिएका हुन्।

आइतबारकाे राष्ट्रियसभा बैठकमा बाेल्दै गाैतमले राजनीतिक दलका नेताहरूले देशको विकास गरेनन् भन्दैमा मलाई राजा बनाऊ भन्नु उचित नहुने बताए। पुनः राजा बन्ने चाहना त्यागेर पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराई ०८४ मा हुने चुनावमा भाग लिन उनले सुझाव दिए।

‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित हुँदैन’ उनले भने, ‘तपाईँले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस्।’

निर्वाचित भई संसद्‌बाट प्रधानमन्त्री बनेर देशको चौतर्फी विकास र समृद्धि कायम गर्न उनले आग्रह गरे। उनले भने, ‘निर्वाचित भई संसद्‌बाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस्।’

आइतबार नै प्रतिनिधिसभामा पनि कांग्रेस सांसद ईश्वरीदेवी न्याैपानेले पूर्वराजालाई ०८४ काे चुनाव लड्न चुनाैती प्रस्तुत गरेकी थिइन्।

फागुन ७ मा प्रजातन्त्र दिवसकाे अवसरमा पूर्वराजा शाहले राजनीतिक दलका नेताहरूलाई दाेषाराेपन गर्दै दिएकाे अभिव्यक्ति विवादित बनेकाे थियाे । यसकाे पक्ष र विपक्षमा राजावादी र गणतन्त्रवादीबीच सवाल जवाफ हुँदै आएकाे छ। थाहा खबर

Facebook Comments Box