पानीजहाज जुधेपछि चीन र फिलिपिन्सबीच विवाद
तस्बिर : एपी
मनिला/बेइिजङ —साउथ चाइना समुद्रको विवादित क्षेत्रमा तटरक्षक पानीजहाजहरू जुधेपछि चीन र फिलिपिन्सले एकअर्कालाई आरोप लगाएका छन् । फिलिपिन्सले चिनियाँ जहाज ‘सिधै र नियोजित रुपमा’ आफ्नो जहाजसँग ठोक्काइएको दाबी गरेको छ । त्यस्तै, बेइजिङले फिलिपिन्सलाई जानाजान चिनियाँ जहाजसँग जुधाइएको आरोप लगाएको छ ।
बीबीसीका अनुसार दुई जहाज सबिना शोलनजिक शनिबार जुधेका हुन् । दुई देशबीच लामो समयदेखि साउथ चाइना समुद्रका विभिन्न टापु र क्षेत्रहरूमा तनाव जारी छ । दुई सातायता एउटै क्षेत्रमा दुई देशका पानीजहाजसँग जोडिएका कम्तीमा तीनवटा घटना सार्वजनिक भएका छन् ।
चीनले जियानबिन जिआवो र फिलिपिन्सले एस्कोडा शोल भनेर दाबी गर्ने सबिना शोल फिलिपिन्सको पश्चिमी तटबाट करिब ७५ र चीनबाट ६ सय ३० नटिकल माइलको दूरीमा छ ।
प्रमुख व्यापारिक मार्ग साउथ चाइना समुद्रबाट वर्षमा ४० खर्ब अमेरिकी डलर बराबरको व्यापार हुन्छ । बेइजिङले फिलिपिन्स, ब्रुनाई, मलेसिया, ताइवान र भियतनामले दाबी गरेका भागसहित लगभग सम्पूर्ण साउथ चाइना समुद्रमाथि दाबी गर्छ ।
पछिल्लो झडपपछि, चिनियाँ तटरक्षकले फिलिपिन्सलाई ‘उत्तेजना, उपद्रव र उल्लंघनका सबै कार्य दृढतापूर्वक विफल’ पार्ने वाचा गर्दै सबिना शोलबाट फिर्ता हुन चेतावनी दिएको छ । फिलिपिन्सको तटरक्षक निकायले चिनियाँ तटरक्षकको उत्पीडन, धम्की गतिविधि र बढ्दो कारबाहीको बाबजुद आफ्नो जहाज ‘टेरेसा म्याग्बानुआ’ सार्न नदिने बताएको छ ।
शनिबारको दुर्घटनामा कुनै पनि मानिस हताहत नभएको बताइएको छ । तर फिलिपिन्सको तटरक्षक अधिकारी जय तारिएलाले चिनियाँ जहाजले धेरै पटक ठक्कर दिएपछि ९७ मिटर लामो टेरेसा म्याग्बानुआमा क्षति पुगेको बताएका छन् ।
फिलिपिन्सका लागि अमेरिकी राजदूत मारीके एल कार्लसनले साउथ चाइना समुद्रमा ‘चीनको खतर्नाक कार्य’को आलोचना गरेकी छिन् । ‘अन्तर्राष्ट्रिय कानुनको चीनद्वारा भएका धेरै खतर्नाक उल्लंघनहरूको अमेरिका निन्दा गर्छ,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, ‘अन्तर्राष्ट्रिय कानुनको पालना गर्न हामी फिलिपिन्सको साथमा छौं ।’
चीनले साउथ चाइना समुद्रमा बढ्दो तनावको लागि बारम्बार फिलिपिन्स र उसको सहयोगी अमेरिकालाई दोषी ठहर्याउँदै आएको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले गतसाता अमेरिकाले फिलिपिन्सलाई अनावश्यक उत्तेजना फैल्याउन प्रयोग गरिरहेको बताएका थिए । यो विवादले अन्ततः साउथ चाइना समुद्रमा ठूलो टकराव निम्त्याउन सक्ने पर्यवेक्षकहरूले चिन्ता व्यक्त गरेका छन् ।
