भारतमा चिकित्सकको न्यायका लागि गरिएको प्रदर्शनमा बंगाल प्रहरीकाे दमन , ममता काे राजिनामा माग

सेयर गर्नुहोस

काेलकाता —भारतको कोलकातामा महिला चिकित्सकको न्यायका लागि गरिएको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । मंगलबारको विरोधका क्रममा आक्रोशित प्रदर्शनकारीले नाराबाजी गरेपछि प्रहरीले भीड तितरबितर गर्न लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीले ‘शान्तिपूर्ण विरोध’ मा प्रहरीले लाठीचार्ज गरेको जनाएका छन् । प्रहरीले हिंसा फैलाएको आरोपमा कम्तीमा सय प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

कोलकातास्थित एक अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको अगस्ट ९ मा बलात्कारपछि हत्या गरिएको थियो । ती चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो ।

अस्पतालको ड्यूटी सकेर आराम गर्न गएकी ३१ वर्षीया चिकित्सकको हत्यापछि कोलकातामा प्रदर्शन चर्केको हो । प्रदर्शनकारीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको राजीनामा माग गरेका छन् ।

घटनामा संलग्न भएको आशंकामा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले अस्पतालमा स्वयंसेवकको काम गर्ने एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । स्थानीय प्रहरीले अनुसन्धानमा ढिलाई गरेको स्थानीयको व्यापक गुनासोपछि घटनाबारे विस्तृत अनुसन्धान गर्ने जिम्मेवारी सीबीआईलाई दिइएको हो ।

घटनाको विरोधमा कोलकाता, नयाँदिल्ली, हैदराबाद, मुम्बई, पूणे, लखनऊ, अहमदाबाद, गुहावटी, चेन्नई प्रयागराजलगायत भारतका प्रमुख सहरहरूमा प्रदर्शन चर्केको छ । प्रदर्शनकारीले स्वास्थ्यकर्मीको सुरक्षा, अस्पतालको सुरक्षा व्यवस्थामा सुदृढीकरण र आरामका लागि सुरक्षित स्थान बनाउनुपर्ने लगायतका माग अघि सारेका छन् ।

Facebook Comments Box