इङ्लिस टोलीका पूर्व प्रशिक्षक स्वेन गोरानको निधन
काठमाडौं : इङ्लिस फुटबल टोलीका पूर्व प्रशिक्षक स्वेन गोरान एरिक्सनको ७६ वर्षको उमेरमा निधन भएको छ।
‘हाम्रा बुबा स्वेन गोरान एरिक्सनको सोमबार बोर्कफोर्सस्थित आफ्नै घरमा निधन भएको छ । उहाँ लामो समयदेखि रोगसँग लडिरहनु भएको थियो । तर अब यसबाट मुक्ति मिलेको छ। हजुरको आत्मालाई शान्ती मिलोस बुबा,’ एरिक्सनका सन्तान लिना र जोहनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
इङ्लिस टोलीका पहिलो गैर ब्रिटिश प्रबन्धक एरिक्सनले सन् २००१ देखि २००६ सम्म जिम्मेवारी सम्हालेका थिए। उनको प्रशिक्षणमा इङ्ल्यान्डले सन् २००४ र २००८ को युरोपियन च्याम्पियनसिप र फिफा विश्वकप २००६ को क्वार्टरफाइनलको यात्रा तय गरेको थियो।
स्विडेनका एरिक्सन लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका थिए। उनले मेक्सिको, आइभोरी कोस्ट र फिलिपिन्स राष्ट्रिय टोलीको पनि प्रशिक्षकका रूपमा काम गरेका थिए।
यसैगरी एरिक्सनले बेन्फिका, लिभरपुल, म्यानचेस्टर सिटी, लाजियो, रोमा, लेस्टर सिटी जस्ता क्लबको पनि जिम्मेवारी सम्हालेका थिए।
