प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय : राधिका शाक्य
काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताएकी छन्।
सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी सङ्गठनको गरिमा कायम राख्न प्रहरी र तिनका परिवारको उत्तिकै भूमिका हुने बताइन्।
जुनसुकै समयमा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मानका हकदार भएको उनको भनाइ थियो।
“प्रहरी श्रीमानहरुलाई अगाडि बढाउन श्रीमतीहरुको महत्वपूर्ण योगदान हुन्छ। त्यस्तै महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुन्छ। एकापसमा सहयोग आदान–प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ”, प्रथम महिला शाक्यले भनिन्, “प्रधानमन्त्री ओली गृहमन्त्री भएदेखि नै आफू र प्रहरी सङ्गठन तथा प्रहरी परिवारसँग भावनात्मक सम्बन्ध रहँदै आएको छ। वास्तवमा प्रहरीलाई राष्ट्रको जिम्मेवारीलाई बुझेर संयम, शान्ति र धैर्यका साथ कार्यक्षेत्रमा लाग्न परिवारको अहम् रहेको हुन्छ। यो भूमिकाको निरन्तरता रहोस् भन्ने शुभकामना दिन चाहान्छु।”
उनले सङ्घमा जवानहरुका श्रीमतीलाई पनि जोडेर मानवीय सेवामा लाग्ने थप अवसर दिन आग्रह गरिन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत सहभागी कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा एसइई मा सफल हुने प्रहरी परिवारका छोराछोरीलाई सम्मान गरिएको थियो।
