अर्सदमाथि धनको वर्षा
काठमाडौं : पेरिस ओलम्पिकमा सहभागी एघार हजारमध्ये चम्किएका खेलाडीमा ज्याभलिन थ्रोका नदिम अर्सद पनि हुन्।
पाकिस्तानका अर्सदले ओलम्पिक कीर्तिमानसहित ज्याभलिन थ्रोको स्वर्ण पदक जिते। अर्सदको सफलता पेरिस ओलम्पिकमा दक्षिण एसियाबाट आएको एक मात्र स्वर्ण पदक हो। पेरिस आउनुअघि अर्सदलाई यस खेलमा लाग्नु पनि कठिन थियो।
अर्सदसँग प्रायोजक थिएन। गाउँलेले चन्दा उठाएर खेल सामग्री खरिद गर्न सहयोग गरेपछि मात्र अर्सद खेल्न विदेश जाने गर्दथे। पेरिस ओलम्पिकअघि अर्सदले आफ्नो ज्याभलिन पुरानो भइसकेको भन्दै नयाँ ज्याभलिन खरिद गर्न सामाजिक सञ्जालमा सहयोग माग गरेका थिए।
अर्सदका बुवा ज्यालादारी काम गर्छन्। यस्तो प्रतिकूल परिस्थितिबिच ओलम्पिकमा कीर्तिमान स्वर्ण बनाएपछि अहिले अर्सदमाथि धनको वर्षा भइरहेको छ। अर्सदले अहिलेसम्म २५ करोड पाकिस्तानी रुपियाँ पुरस्कारबाट मात्र प्राप्त गरिसकेका छन्।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले १५ करोड रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गरे। यसअघि पन्जाबकी मुख्यमन्त्री मरियम नवाज अर्सदको घर पुगेर १० करोड रुपियाँ बराबरको चेक प्रदान गरिन्। नवाजले अर्सदलाई ‘पिएके ९२.९७’ नम्बर प्लेटको नयाँ कार पनि हस्तान्तरण गरे।
अर्सदले ९२.९७ मिटर (३०५ फिट) ज्याभलिन फालेर सन् २००८ मा नर्वेका एन्द्रियस थार्डकिल्सनले राखेको कीर्तिमान भङ्ग गरेका छन्। अर्सदका प्रशिक्षक सलमान इकबाललाई पनि ५० लाख रुपियाँ पुरस्कार प्रदान गरिएको थियो। यसबाहेक व्यक्तिगत रूपमा पनि अर्सदलाई विभिन्न पुरस्कार दिनेको ताँती नै छ। अर्सदको स्वर्ण ओलम्पिक ट्र्याक एन्ड फिल्डमा पाकिस्तानका लागि पहिलो हो। यसै गरी पाकिस्तानले व्यक्तिगत इभेन्ट स्वर्ण पदक जितेको पनि यो पहिलो पटक हो।
४० वर्षअघि पाकिस्तानको हकी टिमले ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। पाकिस्तान सन् १९६० र १९६८ मा पनि हकीमा ओलम्पिक च्याम्पियन बनेको थियो। व्यक्तिगत विधातर्फ पाकिस्तानले सन् १९६० मा कुस्ती तथा सन् १९८८ बक्सिङमा एक एक कांस्य हासिल गरेको विगत छ। विश्व खेलकुदको महाकुम्भमा पाकिस्तानको पछिल्लो पदक भनेको सन् १९९२ मा भएको बार्सिलोना ओलम्पिकमा हकीमै जितेको कांस्य पदक थियो।
