सेती नदीको दोहन : प्रहरी समात्ने, महानगरपालिका छाड्ने
लेखनाथ : पोखरा महानगरको बिच भागबाट बग्ने सेती नदी कतै लुक्छ, कतै खुला भएर बग्छ। नदी खुला भएका ठाउँमा नदीजन्य पदार्थको उपयोगका लागि टेण्डर आह्वान गर्ने गरिएको छ। टेण्डर आह्वान नहुने ससाना ठाउँमा भने अवैध तवरले नदीजन्य पदार्थ निकाल्ने र ओसारपसार गर्ने क्रम चलिरहन्छ।
सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, ससाना घाटमा अवैध रूपले नदीजन्य पदार्थ निकालेर ओसारपसार गर्नेहरु कास्कीमा सक्रिय छन्। उनीहरू हत्तपत्त प्रशासन र प्रहरीको नजरमा पर्दैनन्, परिहाले पछि छुट्छन्।
पोखरा महानगरपालिका वडा नम्बर १४ को बाच्छेबुडुवामा राती–राती नदीजन्य पदार्थ निकाल्ने र ओसारपसार गर्ने तीन गाडी कास्की प्रहरीले आइतबार नियन्त्रणमा लियो। नियन्त्रणमा लिएका गाडी प्रहरीले कारवाहीका लागि पोखरा महानगर पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।
पोखरा १४ बाच्छेबुडुवाको सेती घाटमा राती बालुवा, गिट्टी र ढुङ्गा उत्खनन् गरी दुई वटा ट्याक्टर नदीजन्य पदार्थसहित र एउटालाई खाली समातिएका थिए। त्यसरी नियन्त्रणमा लिइएका ग १ ख ६६०९ नम्बरको मिनी ट्रिपर, ग१त ५४१६ नम्बरको को ट्याक्टर र ग १ त ७०२४ नम्बर को ट्याक्टर महानगरले आइतबार नै छाडिदिएको छ।
महानगरको राजस्व शाखाले प्रमाण नपुगेको भन्दै गाडी छाडिदिएको हो। पोखरा महानगरका राजस्व शाखाका प्रमुख दीपेन्द्र पाण्डितले एउटा ट्याक्टरलाई १२ हजार जरिवाना र एउटा ट्याक्टरलाई त्यसै छाडिएको जानकारी दिए। ‘प्रहरीले कारबाहीका लागि पठाएको थियो। तर प्रमाण नै पुग्दैन। पुगेकालाई कारबाही गरेर पठाएका छौँ’, पण्डितले भने।
अनकन्टार ठाउँमा रहेको बाच्छेबुडुवाको सेती घाटमा राति उत्खनन् हुने गरेको छ। नदीजन्य पदार्थ ओसारपोसार गरेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय र पोखरा १४ वडा कार्यालयलाई स्थानीयले नै दिएका थिए। नदी दोहन गर्नेलाई उन्मुक्ति दिने गरेको भन्दै उनीहरू आक्रोशित छन्।
