डिपफेकमा ‘एक्शन’ नलिएको भन्दै प्रविधि कम्पनीहरूसँग चिढियो भारत

सेयर गर्नुहोस

नयाँ दिल्ली । हालैका महिनाहरुमा भारतमा डिपफेक प्रविधिको प्रयोग गरेर बनाइएका अभिनेत्री, सेलिब्रेटीहरूको अनेक भिडियो र फोटो बाहिरिए । डिपफेक प्रविधिको दुरुपयोग रोक्न त्यहाँको सरकारले प्रविधि कम्पनीहरुलाई पटक पटक भन्दै आएको छ । यस्ता प्रविधिको दुरुपयोगविरुद्ध सक्रिय उपायहरू नअपनाएमा प्रतिबन्ध लगाउने भन्दै भारतले प्रविधि कम्पनीहरूलाई चेतावनी दिएको छ ।
सरकारका वरिष्ठ मन्त्रीले यस्तो चेतावनी दिएका हुन् । डेपुटी आईटी मन्त्री राजिभ चन्द्रशेखरका अनुसार डिपफेकविरुद्ध कारवाहीका लागि परिभाषित कानुन स्थापित गर्न भारतले आगामी हप्तासम्ममा आईटी कानुन संसोधन गर्ने योजना बनाएको छ । सरकारले यसअघि नै भ्रम सृजना गर्ने कन्टेन्टबारे एड्भाइजरी जारी गरेको थियो । प्रविधि कम्पनीहरुले सरकारको सो एड्भाइजरी पालना नगरेको प्रति मन्त्री चन्द्रशेखरले असन्तुष्टि जनाएका छन् ।

डिपफेक भिडियोहरुलाई वेवास्ता गरेर आफूहरू अगाडि बढ्न सक्छौं भनेर कम्पनीहरुले सोचेका हुन् भने यस्ता प्लेटफर्महरू बन्द गरेर आफ्नो जनतालाई जोगाउने ताकत आफूहरूसँग भएको उनको भनाइ थियो ।

डिपफेकविरुद्ध प्रभावकारी लडाई लड्न नसकेमा भारत कानूनी कारवाही गर्न बाध्य हुने चन्द्रशेखरले बताएका छन् । यही हप्ता क्रिकेटर सचिन तेन्दुलकरको डिपफेक भिडियो विभापन सामाजिक सञ्जालमा भाइरल बनेपछि भारतमा डिपफेक पुनः सञ्चार माध्यमको हेडलाइन बनेको छ ।

Facebook Comments Box