पहिलोपटक पोर्टेबल मोबाइल अस्पताल सञ्चालन, घटनास्थलमै दुई सयजनाको उपचार गर्न सकिने
एजेन्सी ।
भारतको गुरुग्राममा विश्वकै पहिलो पोर्टेबल अस्पताल निर्माण गरिएको छ।
‘आरोग्य मैत्री घनु’ नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा सुरु गरिएको हो। स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारका लागि घटनास्थलमा पुर्याएर एक घन्टाभित्र जडान गरी तुरुन्त उपचार सेवा सुरु गर्न सकिन्छ।
प्याकर्स प्रोडक्ट्सका प्रबन्ध–निर्देशक अमित चौधरीका अनुसार आकस्मिक स्थलमा पुगेको एक घन्टाभित्रै जोडजाड (एसेम्बल) गरी स्थापना गर्न सकिने यो अस्पताल हामीले आफ्नै मौलिकतामा आधारित भएर डिजाइन गरिएको छ।
यो युद्धग्रस्त क्षेत्र वा कुनै पनि आपतकालीन क्षेत्रमा वा प्रकोप प्रभावित क्षेत्रमा घाइतेलाई तत्काल उपचार पुर्याउन प्रयोग गर्न सकिन्छ।
भीष्म (सहयोग हित र मैत्रीका लागि भारत स्वास्थ्य पहल) फोर्सका प्रमुख एयर वाइस मार्शल तन्मोय रोयले यस्तो सेवा विस्तारबाट कुनै पनि विपत्तिका वेला १५ मिनेटभित्र सर्जिकल स्टेसन स्थापना सहित सेवा प्रवाह गर्न सकिने दाबी गरे।
अस्पतालको शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन्। यसले भारतको मानवीय उद्धार प्रयास र आपतकालीन प्रतिक्रिया क्षमतामा आमूल परिवर्तनको प्रतिनिधित्व दाबी गरिएको छ।
