चरेससहित पक्राउ परेका चार जना नेपालीलाई समातेकाे भारतीय प्रहरीकाे दाबी
कबाड गाेदाम भत्काउदै रुपन्देही प्रशासन
काठमाडौं । भारतीय प्रहरीले नेपालको नाकाबाट तस्करी भएको लागूऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ । रुपन्देहीको मैनिहवा नाकाबाट ठूलो परिमाणमा तस्करी भएको चरेस भारतीय प्रहरीले बरामद गरेको हो ।
भारतीय प्रहरीको नारोक्टिस सेलसहितको टोलीले रुपन्देही मैनिहवा (भगवानपुर) नाकाबाट तस्करी भएको ८५ किलो चरेस सोनौली क्षेत्रको पिपहरियाबाट बरामद गरेको हो । बरामद चरेस ७८ करोड ४० लाख बजार मूल्य बराबरको रहेको भारतीय प्रहरीको दाबी छ ।
चरेससहित पक्राउ पर्नेमा भारतीय नागरिकहरु संजय यादव, सन्तोष पासवान, दीपक मिश्रा र रामअवतार यादव छन् । उनीहरूलाई युपी ५६ एयु ४५०१ नम्बरको गाडीसहित पक्राउ गरिएको भारतीय प्रहरी बताउँछ ।
गोरखपुर नारोक्टिस सेलका डेपुटी एसपी अनुज कुमार सिंहले नेपालबाट तस्कर भएर आएको चरेससहित चार जनालाई पक्राउ गरिएको बताए । यादवसहितका तस्करहरूले रुपन्देहीको मैनिहवा नाकाबाट नेपाल प्रहरीकै मिलोमतोमा कवाडको तस्करी गरेको बताइएको छ ।
प्रहरीलाई कवाड तस्करीको लाइन दिएर तस्करहरूले कवाडको आडमा लागूऔषध चरेसको तस्करी सुरु गरेको भारतीय प्रहरीको दाबी छ । तर, मोटो रकमको लोभमा नेपाल प्रहरीले उनीहरूलाई कुनै रोकतोक नगरेको हुनसक्ने अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय धकधकई, प्रहरी चौकी मैनिहवा, सशस्त्र प्रहरी पजरकट्टी, सशस्त्र प्रहरी बल डण्डा, सशस्त्र प्रहरी बल २७ नम्बर गणलगायतलाई मोटो रकम दिएर धकधकई क्षेत्रको मैनिहवा नाकाबाट कवाड तस्करको नाममा लागूऔषध चरेस तस्कर भइरहेको स्रोत बताउँछ ।
दुई दिनअघि पनि भारतीय प्रहरीले ८८ किलो चरेस बरामद गरेको थियो । रुपन्देहीकै सोही नाकाबाट तस्करी भएको चरेससहित तीन जना भरीयाहरु पक्राउ परेका थिए । जसको बजार मूल्य ८० करोड रुपैयाँ थियो ।
भारतीय प्रहरीले गोप्य सूचनाको आधारमा केही दिनअघि चरेससहित उक्त कवाड तस्करहरूलाई भारतमा पक्राउ गर्दा घटना बाहिर आएको हो । तस्करहरुले नेपालबाट भारतमा ट्रक र ट्याक्टरमार्फत् कवाडको तस्करी गर्दै आएका छन् ।
९ दिनको अन्तरमा भारतीय प्रहरीले रुपन्देही नाकाबाट तस्करी भएको एक क्विन्टल साढे ७३ किलो चरेस सीमावर्ती क्षेत्रबाट बरामद गरेको जनाएको छ । पक्राउ परेका यी तस्करहरूको गोदाम भारतीय सीमा नजिकै छ । जसकारण तस्करहरूलाई सीमाबाट तस्करी हुने सहज भएको छ ।
यसरी दिनहुँ ठूलो परिमाणमा रुपन्देहीको नाकाबाट चरेस तस्करी हुँदासमेत प्रहरीले चासो देखाएको छैन । यहीँबाट प्रष्ट हुन्छ कि रुपन्देही प्रहरीको मिलोमतोमा यहाँका नाकाहरूबाट कसरी तस्करी व्यापक रुपमा मौलाइरहेको छ भनेर ।
हाल रुपन्देही प्रहरी प्रमुख छन् प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर विक । घुमुवा राखेरै पैसा कमाउन व्यस्त एसपी विक रुपन्देही प्रमुख भएपछि थुप्रै आपराधिक क्रियाकलापहरु भएको छ । कमजोर कमाण्ड क्षमताका विक शक्तिकेन्द्रको आडमा रुपन्देही जस्तो संवेदनशील जिल्लाको नेतृत्वमा पुगेका हुन् ।
रुपन्देही नाकामा रहेको कवाड गोदाम भत्काइयो
जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि रुपन्देहीको मैनिहवा नाकामा रहेको कवाड गोदाम डोजर लगाएर भत्काइएको छ । उक्त नाकाबाट ठूलो परिमाणमा लागूऔषध तस्करी भएपछि सीमा क्षेत्रमा रहेको गोदाम भत्काइएको हो ।
उक्त गोदामका कवाड तस्करहरूले प्रहरीको मिलोमतोमा नाकाबाट लागूऔषध चरेस भारत पुर्याएको खुलेपछि प्रशासनको निर्देशनमा शनिबार डोजर लगाएर कवाड गोदाम भत्काइएको हो ।
गत बिहीबार मात्रै तस्करहरूले नाकाबाट तस्करी गरिएको ठूलो परिमाणको लागूऔषध चरेस भारतीय प्रहरीले बरामद गरेको थियो । उक्त चरेस बरामद भएको चर्चापछि तत्कालै उक्त कवाड गोदाम भत्काउन लगाइएको हो ।
रुपन्देहीका सिडिओ गणेश अर्यालले प्रशासनको निर्देशनपछि आज ए.एस.पी. स्क्रेप सप्लायर्स लेखिएको कवाड गोदाम डोजर लगाएर भत्काइएको जानकारी दिए । उनले भने, ‘बोर्डर नजिकका कवाड गोदामहरुबाट आपराधिक गतिविधि हुने भएकाले भत्काउन निर्देशन दिएको हुँ ।’
गत साउनमा नै जिल्ला सुरक्षा समितिको बैठकले सीमा नाकाहरुमा रहेका कवाड गोदाम हटाउने निर्णय गरेको सिडिओ अर्यालले बताए । उनले भने, ‘पहिलाको निर्णयलाई अहिले आएर कार्यान्वयन गरिएको हो । अरु पनि गोदामहरु भत्काइनेछ ।’
सिडिओ अर्यालका अनुसार भत्काइएको कवाड गोदाम व्यवस्थित समेत थियो । उनी भन्छन्, ‘एकपटक मैले पनि उक्त गोदाम हेर्ने अवसर पाएको थिएँ । भित्र गएर हेर्दा यस्तो पनि कवाड गोदाम हुन्छ र भनेर शंका गर्ने ठाउँ थियो ।’
सीमा क्षेत्रमा रहेको उक्त कवाड संकलन गर्ने व्यवसायप्रति स्थानीयको गुनासो, अवैधरूपमा सञ्चालन र अवैध गतिविधि हुनसक्ने भएकाले गोदामको गेट तथा अस्थायी पर्खाल डोजर लगाएर भत्काई व्यवसाय सञ्चालनमा रोक लगाइएको हो ।
उक्त गोदामबाट भारतमा अधिक कवाड तस्करी भएपछि जिल्ला प्रशासन कार्यालयमा गुनासो पुगिरहन्थ्यो । त्यतिमात्र होइन ३ महिनाअघि गोदाम हटाउन निर्णय समेत भएको थियो । तर, कार्यान्वयनमा भने आएको थिएन ।
अहिले कवाड तस्करहरूले कवाडको नाममा ठूलो परिमाणमा भारतमा चरेस तस्करी गरेको विषयमा समाचारहरु छताछुल्ल भएपछि उक्त कवाड गोदाम भत्काई व्यवसाय सञ्चालनमा रोक लगाइएको हो ।
