बीआरआई र जीसीआईमा नेपाल सहभागी भएको ‘प्रोपोगाण्डा’गर्दै चिनियाँ राजदूत, सरकार मौन

सेयर गर्नुहोस

नेपालका लागि चीनका राजदूत छन सोङले सार्वजनिक रुपमै एकपछि अर्को विवादास्पद टिप्पणी गरिरहँदा नेपाल सरकारको भुमिका माथि नै शंका उब्जिएको छ ।

राजदूत छनले नेपाल सहभागि नै नभएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र ग्लोवल सिभिलाइजेशन इनिसियटिभ (जीसीआई) मा सहभागी रहेको दाबीगर्दा समेत परराष्ट्र मन्त्रालयले शंकास्पद मौनता साधेको छ । उनले लगातार सामाजिक सञ्जालमा नेपाल बीआरआई र जीसीआईमा सहभागी भएको दाबी गरिरहँदा सरकार भने मौन रहेको छ ।

विश्लेषकहरु नेपालको यो रवैयाले उसलाईनै भविष्यमा अप्ठयारोमा पार्ने बताउछन् । उनीहरुले नेपाल समयमै स्पष्ट नभए देश नै कुटनीतिक तथा रणनीतिक जालोमा फस्ने दाबी गर्दै टिप्पणी गरिरहेका छन् ।

यद्यपि कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले जीसीआई अहिले अध्ययनकै चरणमा रहेको बताएका छन् । उनले कान्तिपुरका पत्रकार जगदीश्वर पाण्डेसँग भनेका छन्, ‘जीसीआई विश्व सभ्यतालाई एक ठाउँमा ल्याउने अवधारणा हो । यो अवधारणामा हामी अध्ययनकै क्रममा छौं । नेपाल सरकारले छलफल गरेर यसबारे निर्णय गर्छ ।’

पछिल्लो समय राजदूत छनले बिहीबार ट्वीटगर्दै ड्रागन बोट रेस चीनका राष्ट्रपति सी चीनपीङको अवधारणा ग्लोबल सिभिलाइजेसन इनिसियटिभको कार्यन्वयन भएको दाबी गरे ।

उनले ट्वीटमा भनेका छन्, ‘भगिनी सहर पोखरा र लिन्झीको कला समूहले सिजाङ संस्कृतिको दृश्य भोज प्रस्तुत गरेका छन् । यो ड्रागन बोट रेस फेस्टिभलको एउटा महत्त्वपूर्ण कार्यक्रम हो । यो ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको अर्को जीवन्त कार्यान्वयन हो ।’

जीसीआईका लागि चीनको सहकार्य प्रस्तावमा नेपालले अझै छलफल गरिरहेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले केहीदिन अघि गरेको चीनको औपचारिक भ्रमणमा रहेका जीएसआई (ग्लोबल सेक्युरिटी इनिसिएटिभ) र जीसीआईमा सहभागी हुन चिनियाँ अधिकारीले आग्रह गरेका थिए । बेइजिङस्थित जनबृहत् सभाहलमा तिमिल्सिनासँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी) का स्थायी समिति अध्यक्ष चाओ लचीले जीएसआई र जीसीआईमा सहभागिता जनाउन आग्रह गरेका थिए ।

यस्तै यसअघि राजदूत छनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण कार्यक्रममा राजदूत छनले यस्तो विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

राजदूत छनले यसअघि उक्त विमानस्थल उद्घाटनको क्रममा पनि बीआरआई परियोजनाअन्तर्गत विमानस्थल बनेको बताएका थिए । तर, वास्तविकतामा भने नेपालले चिनियाँ बैंकसँग ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको हो । नेपालले चिनियाँ बैंकसँग महँगो ब्याजदरमा ऋण लिएको छ, जसको किस्ता तिर्ने अवधि पनि सुरु भइसकेको छ ।

विमानस्थल उद्घाटन हुनु एक दिनअघि काठमाडौंस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गतको परियोजना भएको ट्वीटरमार्फत दाबी गरेको थियो । वास्तविकतामा भने यो आयोजनामा चीनको २२ अर्ब रुपैयाँ ऋण नेपालले लिएको छ । पोखरा विमानस्थल बनाउन चाइना एक्स्पोर्ट–इम्पोट (एक्जिम) बैंकबाट ४० वर्षको लागि ऋण लिइएको हो ।

जब कि बीआरआई योजना आउनु अघि नै पोखरा विमास्थलको काम सुरु भएको थियो । सन् २०१२ मा नेपाल र चीनबीच विमानस्थल बनाउनेबारे समझदारी भएको थियो । त्यतिबेला विना प्रतिस्पर्धा ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट कन्ट्रयाक्ट’ (ईपीसी) मोडेलमा विमानस्थल बनाउन सिधै चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको थियो । जब कि बीआरआई योजनाको सुरुवात सन् २०१५ बाट भएको हो । चिनियाँ राष्ट्रपति सी चीनफिङ सत्तामा आएपछि यो योजना सुरु गरिएको थियो । त्यसैले पनि चीनले बीआरआईमा नेपाललाई जबर्जस्ती जोड्न खोजेको स्पष्ट हुन्छ ।

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण सुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर ९भ्याट०सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यो महँगो ब्याजदर हो । अन्तर्राष्ट्रिय दातृ निकायबाट लिइने ऋणको ब्याज १ प्रतिशतभन्दा कम हुन्छ । यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ ।

चीनले भने ऋण लिएर बनाइएको उक्त विमानस्थललाई अनुदानमा बनाइदिएको जसरी प्रचार गर्दै आएको छ । नेपाल चीनको बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० परियोजनामा सहभागी हुने सम्झौता भएको छ । तर, हालसम्म उक्त परियोजनाअन्तर्गत कुनै पनि योजना नेपालमा अघि बढिसकेको छैन । चीनले उक्त परियोजना कुनै पनि प्रकारको सहयोग नेपाललाई हालसम्म पनि गरेको छैन । तर, राजदूत छन्ले भने पटकपटक पोखरा विमानस्थललाई बीआरआई परियोजनाअन्तर्गतको भन्दै भ्रम छर्दै आएका छन् ।

निर्माणको क्रमदेखि चिनियाँ ठेकेदार कम्पनीका कारण विवादित रहेको पोखरा विमानस्थलमा लामो समयदेखि अन्तर्राष्ट्रिय उडानसमेत हुन सकेको थिएन । व्यावसायिकरूपमा सञ्चालनमा आएको ६ महिनापछि आज बुधबार बल्ल उक्त विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान अवतरण भएको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान गरेको हो ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ ९पुस १७० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो ।

Facebook Comments Box