सरकारलाई संसद्प्रति जवाफदेही बनाउनुपर्छ : सभामुख घिमिरे
काठमाडौं : सभामुख देवराज घिमिरेले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आग्रह गरेका छन्।
शुक्रवार काठमाडौंमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरूको भूमिका विषयक छलफलमा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसद्प्रति जवाफदेही बनाउनुपर्नेमा जोड दिए। उनले सांसदहरूलाई सरकारलाई संसद्प्रति जवाफदेही बनाउने काममा भूमिका खेल्न आग्रह पनि गरे।
उनले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेका महिला राजनीतिमा पछि रहेको उल्लेख गर्दै महिलाहरूलाई राजनीतिक जिम्मेवारीमा अघि ल्याउनुपर्ने बताए। उनले सरकारले ऐन, कानूनहरूको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराए।
उनले भने‚ ‘अहिलेको जनगणना अनुसार त ५० प्रतिशतभन्दा बढी जनसंख्या भएको महिला पछि परेको स्थितिबाट राजनीतिमा जिम्मेवारीमा ल्याउन संसद्ले खेल्ने भूमिका के हुन्? सरकार संसद्प्रति उत्तरदायी हामीले कस्तो तरिका अपनाउनुपर्छ? विद्यमान ऐन, कानुन कत्तिको पर्याप्त छन्? यो वेलामा समीक्षा हुनु जरुरी छ।’
सभामुख घिमिरेले सांसदहरूको नीति निर्माण र बजेट बाँडफाँडमा आफूहरूको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताए। सांसदहरूले जनताको भावना संसद्मा मुखरित गर्नुपर्ने बताए।
