‘नेपालको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ’

सेयर गर्नुहोस

काठमाडौं : नेकपा(एमाले)का सांसद रघुवीर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन्।

उनले पुराना हतियारहरूलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताए। उनले नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउनु नहुने बताए। उनले नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवर्द्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्न तर्फ परिचालन गर्नुपर्ने बताए।

‘सेनालाई राष्ट्रिय पहिचानको प्रवद्र्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नतर्फ परिचालन गर्नुपर्छ। नेपाली सेनालाई आधुनिकीकरण गर्नुपर्छ। उहाँहरूलाई उहाँहरूसँग सम्बन्धित उद्योग, व्यापार बाहेक अरु उद्योग व्यापारमा लगाउनु हुँदैन। पच्चिसौँ, पचासौँ वर्ष पुराना हतियारहरूलाई डम्पिङ गर्दै आधुनिकीकरण गर्न उहाँहरूलाई हतियारतिर पनि सरकारले ध्यान दिनुपर्छ’, उनले भने, ‘हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ। पहिला त्यस्तो स्थिति थिएन। आज हामीले जसलाई जिम्मा लगाएका छौँ, कहीँ कहीँ नापीका हाकिमहरू त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ। हिजो मैले के, कसरी सही गरेँ उहाँहरूलाई थाहा हुँदैन। त्यसैले सिमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन। पहिला, पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नाप जाँच उहाँहरूको जिम्मा थियो। त्यसैले यो सरकारले पुनः यसमाथि विचार गरोस्।’

उनले कारागार सुधार गृहको रुपमा विकास हुन नसकेको भन्दै कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

Facebook Comments Box