कोशी प्रदेशको केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना
काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यसका कारण अहिले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका १/२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित फाटफुटदेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेशको १/२ स्थानमा भने मुसलधारे वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
काठमाडौं उपत्यकामा हावाहुरीसहित हलुका पानी परेको छ। सोमबार राति पनि काठमाडौंमा हलुका वर्षाको सम्भावना रहेको छ।
महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भएर यो प्रणाली अहिले क्रमशः देशको पूर्वी भेगतर्फ सरिरहेको छ।
तुलनात्मक रुपमा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भइरहेको छ। साथसाथै कोशी प्रदेशका पूर्वी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको छ। सोमबार काठमाडौंको न्यूनतम तापक्रम २० डिग्री र अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ।
