यू–२० रग्वीको फाइनल समीकरण पूरा
इलाम : नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसँगै महिला र पुरुष तर्फ फाइनल खेल्ने टिम पक्का भएको हो। प्रतियोगिताको पुरुषतर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन्। महिलातर्फ हेटौँडा रगर्स र हिमालयन टाइगर भिड्नेछन्।
पुरुष समूह ए बाट २ जितका साथ विजेताको रूपमा कर्णालीले सेमीफाइनलमा स्थान बनाएको थियो। त्यसैगरी १ जित र १ हारका साथ कटारी उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो। दुई टोली मात्र रहेको समूह बीमा हिमालनविरुद्धको जितका साथ हेटौँडा समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो। महिला तर्फ दुई जितका साथ समूह एमा विजेताको रूपमा कटारी सेमीफाइनल पुगेको थियो। १ जित र १ हारका साथ कर्णाली उपविजेता बनेको थियो। दुई टिम रहेको समुह बी मा हिमालयन टाइगरलाई हराउँदै हेटौँडा सेमिफाइनल पुगेको हो।
प्रतियोगितामा पुरुतर्फ कर्णालीले हिमालय टाइगरलाई ३१–५ अन्तर हराएको हो। त्यसैगरी कटारीले हेटौडालाई ७–० अन्तरले हराएको हो। महिलातर्फ हिमालयन टाइगरले कटारी रग्वी क्लबलाई ५–० ले हराएको हो। त्यसैगरी हेटौँडा रगर्सले कर्णाली रग्वी क्लबलाई ३६–० ले हराएको फाइनल पुगेको हो।
शुक्रबार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुरुष तर्फ कर्णालीले बर्दिबास रग्वी क्लबलाई २९–० ले हराउन सफल रहेको थियो। हेटौँडाले हिमालयन टाइगरलाई १२–० ले हराएको थियो। कटारीले बर्दिबासलाई १९–० ले हराएको छ। कर्णालीले कटारीलाई २९–० ले हराएको छ। महिलातर्फ पहिलो खेलमा कटारीले बर्दिबासलाई १०–० ले हराएको थियो। कटारीले कर्णालीलाई १२–५ ले हराएको छ। हेटौँडाले हिमालयन टाइगरलाई २५–० ले हराएको छ। कर्णालीले बर्दिबासलाई ५–० ले हराएको छ।
फाइनल शनिबार हुनेछ। नेपाल रग्वी संघ कोशी प्रदेश समिति, नेपाल रग्वी संघ इलाम र नेपाल रग्वी संघ माई नगरको समन्वयमा आयोजित प्रतियोगितामा महिला र पुरुषतर्फ ५–५ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछ। प्रतियोगिताको उद्घाटन माई नगरपालिकाका प्रमुख खम्ब सिं लिम्बुले गरेका थिए।
प्रतियोगिताबाट आगामी अगष्टमा नेपालमा हुने यु–२० एसिया रग्वी सेभेन्स प्रतियोगिताको लागि टिम छनोट हुनेछ।
