असम्बन्धित भ्रमणमा जनप्रतिनिधिले खर्च गरे ४ लाख
दैलेख : जिल्लाको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले असम्बन्धित स्थानको भ्रमण गरी ४ लाखभन्दा बढी रुपैयाँ अनियमितता गरेका छन् ।
नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले कामकाज बेगर लुम्बिनी, मुस्ताङ, बाग्लुङ, रुकुम पूर्व तथा जाजरकोट भ्रमण गरी ४ लाख २२ हजार ४२० रुपैयाँ अनियमितता गरेका हुन् ।
भ्रमण खर्च नियमावली, २०६४ अनुसार सरकारी कामको सिलसिलामा कार्यालयभन्दा बाहिर भ्रमण वा काजमा खटिएका पदाधिकारी तथा कर्मचारीले भ्रमण खर्च पाउने उल्लेख गरिए पनि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले सम्बन्धित स्थानको भ्रमण गरी सरकारी सम्पत्ति अनियमितता गरेका हुन् ।
महालेखा परीक्षणको पाँचौँ वार्षिक प्रतिवेदन २०७९ अनुसार प्रयोजन बेगर लुम्बिनी, मुस्ताङ, बाग्लुङ, रुकुम पूर्व तथा जाजरकोट भ्रमण गरेको ४ लाख २२ हजार ४२० रुपैयाँमा अनियमितता देखिएको छ।
नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले आफूले महालेखा परीक्षणको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अध्ययन नगरेकाले थप कुरा पछि गर्ने बताए।
