विजयनगरका महिलालाई चाट, फुलकी र चटपटे तालिम

सेयर गर्नुहोस

विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा १० दिने चाट, फुलकी र चटपटे बताउने तालिम सुरु भएको छ । विजयनगर गाउँपालिकाको आयोजना र माइक्रोट ट्रनिङ्ग एकेडमी बुद्धभूमिका प्राविधिक सहयोगमा उक्त तालिम सुरु गरिएको जनाइएको छ । विजयनगरमा १० दिनसम्म चल्ने चाट, फुलकी र चटपटे तालिमको प्रशिक्षण माइक्रोट ट्रनिङ्ग एकेडमीका प्रशिक्षक अनिल अधिकारीले दिइने आयोजकले जनाएको छ । आम नागरिकको स्वस्थ्यलाई मध्यनजर गर्दै स्वस्थकर फुड प्वाइजनरहित चाट, फुलकी र चटपटे बनाउन सिकाइनेछ ।

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत महिलाहरुको लागि चाट, फुलकी र चटपटे बनाउने तालिम सञ्चालन गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख यमकला रेश्मीले जानकारी दिइन् । स्थानीय श्रोत अन्तर्गत चाट, फुलकी र चटपटे बनाउने तालिम सञ्चालन गरिएको उनले बताइन् । महिलाहरुलाई व्यवसायिक बनाउन यस तालिमले महत्वपूर्ण टेवा पुग्ने उद्धेश्यले सो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले २५ जना महिलाहरुलाई सो तालिम दिइने बताइएको छ ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बाहादुर थापाले यस तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने बताएका छन् । उनले गाउँ, घर, चोक चौराहा, सहर बजार र हाट बजारहरमा चाट, फुलकी र चटपटे मन पराउनेकोे संख्या बढी हुने गरेको बताउँदै यस तालिमले महिलालाई व्यवसायिक बन्न प्रेरित गर्ने बताए ।

यो सिकाईलाई उपलब्धीमुलक भएमा र तालिम लिई व्यवसायिक रुपमा काम गर्ने महिलालाई चाट, फुलकी र चटपटे बनाउन चाहिने आवश्यक भाँडाकुडा सामग्री लगायतको सहयोग गर्ने अध्यक्ष थापाले जनाए । यस तालिमले महिलाहरुको जीविकोपार्जन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

Facebook Comments Box