विजयनगरले ६ सय ९८ जना किसानलाई उन्नत जात धानको बिउ वितरण गर्दै
विजयनगर ।कपिलवस्तुको विजयनगर गाउँपालिकाले किसानलाई अनुदानमा उन्नत जात धानको बिउ वितरण गरिरहेको छ । गाउँपालिकाले बुधबारदेखि किसानलाई हाईब्रिड तथा उन्नत जात धानको बिउ वितरण कार्य सुरु गरेको हो । गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषकलाई उन्नत जात धानको बिउ वितरण गर्न लागेको कृषि विकास शाखाका प्रमुख राम सुन्दर मालीले जानकारी दिए ।
उनले गाउँपालिकाभित्रका रहेका कृषकले अनुदानमा धानको बिउ लागि कृषि शाखामा पेश गरेको निवेदनका अनुसार विजयनगरका ६ सय ९८ जना कृषकहरुलाई धानको बिउ वितरण गरिरहेको बताए । गाउँपालिकाले कृषकलाई राधाचार, महेन्द ३०३०, एराइज ६४४४, र युएस ३१२ नामक उन्नत जात धानको बिउ वितरण सुरु गरिएको उनले बताए ।
उनले कृषकको माग अनुसार धानको बिउ किसानहरुलाई गाउँपालिकाले उपलब्ध गराएको बताए । बुधबाबाट सुरु गरिएको धानको बिउ शनिबार २० गतेसम्म वितरण गरिने कृषि विकास शाखाले जनाएको छ ।
