बिहेको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा दुई जनाको हत्या
कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या भएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले बताउनुभयो । बाणगंगा नगरपालिका वडा नम्बर ६, मटेरिया का ७० वर्षीय बम बहादुर थारु र उनकी भतिजी २२ वर्षीय अन्जनी थारुको चक्कु प्रहार गरि हत्या गरिएको हो ।
बिहीबार बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार भएको थियो । तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पतालमा लगिएको थियो । उनीहरू दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले उनीहरू माथि चक्कु प्रहार गरेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिनुभयो । चक्कु प्रहार पछि दुवै जना गम्भीर घाइते भएका थिए । बम बहादुरको जीतपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु विगत २ वर्ष देखी प्रेम सम्बन्धमा रहेको र बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको भनाई छ । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
