उपनिर्वाचन : बुथ कब्जादेखि हुल-हुज्जतसम्म , मुख्यमन्त्रीसमेत स्पष्टीकरणमा परे

सेयर गर्नुहोस

काठमाडौं । उपनिर्वाचनमा आचारसंहिता विपरीतका गम्भीर घटना भएका छन्। बारा २ मा करिब आधा दर्जनभन्दा धेरै बुथ सत्ता गठबन्धनले कब्जा गरेको जनमत पार्टी र नेकपा एमालेले आरोप लगाएका छन्।

निर्वाचन आयोगबाट अनुमति लिए पनि आफूलाई मतदान केन्द्रमा पुग्नबाट प्रहरीले रोकेको जनमत पार्टीका अध्यक्ष सीके राउतले आरोप लगाएका छन्। मुख्यमन्त्री, अर्थमन्त्री लगायतको निर्देशनमा प्रहरी प्रमुख र स्थानीय प्रशासनको मिलेमतोमा बुथ कब्जा गरिएको भन्दै उनले आक्रोश पोखेका छन्।

मतपत्र खुलेआम बाहिर भेटिएको र सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन आफूलाई प्रहरीले घेराबन्दी गरेको आरोप राउतले लगाए। बाराको देउतल गाउँपालिका-७ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरण खलबल्याउन खोजेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आक्रमणको प्रयास भएको छ। मतदान भइरहेका वेला लामिछाने भरतपुर महानगरपालिका–११ नयाँ किरण मावि मतदान केन्द्रमा पुगेपछि समर्थकले नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान केही समय अवरुद्ध भएको थियो।

त्यसक्रममा आफूमाथि हुल हुज्जत भएको भन्दै लामिछानेले फेसबुक लाइभमार्फत आपत्ति जनाएका थिए। चितवनकै कृष्णपुर मावि केन्द्रमा पनि लफडा भएको थियो। मतदान जारी रहँदा लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको र मतदातालाई प्रभावित बनाएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। नयाँ किरण मावि बुथमा भएको घटनाप्रति नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ। अनेरास्वयुविका अध्यक्ष समिक बडालले विज्ञप्ति निकालेर मतदान भइरहेका वेला रास्वपाका उम्मेदवार रवि लामिछानेबाटै निर्वाचन आचारसंहिता विपरीतका गतिविधि भएको भन्दै आपत्ति जनाएका हुन्।

निर्वाचन आयोगले भने उपचुनाव शान्तिपूर्ण र उत्साहपूर्वक रूपमा सम्पन्न भएको जनाएको छ। विवाद देखिएका ठाउँमा विवाद निरूपणका लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगले जनाएको छ।

मुख्यमन्त्री लाई स्पष्टीकरण

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणप्रति असन्तुष्टि जनाएका छन्। आफूलाई स्पष्टीकरण सोधिएको विषयको विज्ञप्तिप्रति आपत्ति जनाउँदै मुख्यमन्त्री यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितवातावरणमा सम्पन्न गराउन नचुकेको दाबी गरेका छन्।

मुख्यमन्त्री यादवले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। त्यस्तै आयोगले भ्वाइस मेसेजमार्फत मत मागेपछि तनहुँ १ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईसँग पनि स्पष्टीकरण माग गरेको छ।

Facebook Comments Box