ताइवानी राष्ट्रपतिको अमेरिका भ्रमणपछि चिनियाँ सैन्य अभ्यास सुरु

सेयर गर्नुहोस

काठमाडौँ । चीनले ताइवान आसपासमा सैन्य अभ्यास सुरु गरेको छ । चिनियाँ धम्कीका बावजुद अमेरिकी सभामुख केभिन म्याककार्थीसँग ताइवानी राष्ट्रपतिले भेट गरेपछि चीनले पहिलो पटक ताइवान वरपर तीनदिने सैन्य अभ्यास सुरु गरेको हो ।

चिनियाँ सेनाको पूर्वी कमाण्डले शनिबार उक्त अभ्यासको घोषणा गरेको हो । चिनियाँ सेनाले उक्त अभ्यासलाई वाह्य शक्तिसँग ताइवानको पृथकतावादी सेनाको साँठगाँठविरुद्धको गम्भीर चेतावनीको रुपमा अर्थ्याएको छ । साथै उक्त अभ्यासलाई चीनले राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि आवश्यक कदम भनेको छ ।
‘युनाइटेड सार्प स्वर्ड’ नाम दिइएको उक्त सैन्य अभ्यासप्रति ताइवानले भने आपत्ति जनाएको छ । शनिबार चिनियाँ सेनाले अभ्यास घोषणा गर्दै टापु वरपर गस्तीसहित चौतर्फी घेराबन्दी गरेको जनाएको छ ।

शनिबार नै चिनियाँ सेनाका ७१ युद्धविमानहरू ताइवानको क्षेत्रमा पार प्रवेश गराइएको पनि बताइएको छ । तीमध्ये ४५ वटा ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा प्रवेश भएको ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
ताइवानका राष्ट्रपति साइ इङ वेन १० दिने अमेरिका भ्रमण गरेर फर्किएको भोलिपल्टै चीनले सैन्य अभ्यास सुरु गरेको हो । ताइवानी नेताको अमेरिका भ्रमणविरुद्ध चीनले बारम्बार चेतावनी दिएको थियो । यदि ताइवानी नेताले अमेरिका भ्रमण गरे चीनले ‘बलियो र दृढ उपायहरू’ अपनाउने धम्की दिएको थियो ।

त्यसका बावजुद ताइवानी राष्ट्रपति साइले अमेरिका भ्रमण गर्नुका साथै त्यहाँका सभामुख म्याककार्थीसँग भेटसमेत गरेकी थिइन् । दैनिकजसो ताइवानी वायु रक्षा पहिचान क्षेत्रमा गस्ती गर्दै आएको चीनले अमेरिकी पूर्वसभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि ताइवानमाथि आफ्नो दबाब बढाएको छ ।

चीनले ताइवानमाथि शासन नगरे पनि आफ्नो सुरक्षा क्षेत्रको रूपमा हेर्दै आएको छ । साथै त्यसबारे अमेरिकाले गर्ने टिप्पणीप्रति उसले कठोर आलोचना गर्दै आएको छ ।

Facebook Comments Box