अस्ट्रेलियासँग व्यापारिक सम्बन्ध बढाउँदै भारत, कहाँ चुक्दै छ नेपाल ?

अस्ट्रेलिया । अस्ट्रेलिया र भारतले केही महिनाअघि गरेको महत्त्वाकांक्षी व्यावसायिक सम्झौता ‘अस्ट्रेलिया–इन्डिया इकोनोमिक कोअपरेसन एन्ड ट्रेड एग्रिमेन्ट (एक्टा)’ कार्यान्वयनमा ल्याएका छन् । व्यापारिक सम्बन्ध र दोहोरो आयात–निर्यातलाई थप सहज बनाउन दुई देशका व्यापारमन्त्रीले गत अप्रिलमा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
छिमेकी मुलुक भारतसँग व्यावसायिक तथा कूटनीतिक सम्बन्ध विस्तार गरिरहँदा पनि नेपाल भने अस्ट्रेलियासँग हरेक वर्ष आर्थिक सहायता लिनैमा सन्तुष्ट छ ।
विश्वकै पाँचौं र तेह्रौं अर्थतन्त्रबीचको एक्टा सम्झौतालाई विश्व समुदायले अत्यन्तै चासोका साथ हेरेको छ । कररहित व्यापार सम्झौताका रूपमा लिइएको सन्धिले अस्ट्रेलिया र भारतबीचको व्यापारमा लगाइने अधिकांश करका दायरा हटाइने बताइएको छ । दुई देशबीच हाल वार्षिक करिब ३० अर्ब डलरभन्दा बढीको व्यापार हुने गरेको छ । अस्ट्रेलियाको सरकारी तथ्यांकअनुसार सन् २०२१ मा करिब ३५ अर्ब डलर बराबरको दोहोरो व्यापार भएको थियो । जसमध्ये अध्ययनका लागि अस्ट्रेलिया आउने विद्यार्थीले मात्र ४ अर्ब डलरभन्दा बढी भित्र्याएका थिए ।
एक्टा सम्झौताअनुसार अस्ट्रेलियाबाट निर्यात हुने ८५ प्रतिशतभन्दा बढी सामानमा लगाइँदै आएको कर मिनाहा हुनेछ भने अन्य केही वस्तुमा लाग्ने कर आगामी ६ वर्षभित्रमा शून्यमा झारिने जनाइएको छ । सम्झौतापश्चात् दुई देशबीच हुने व्यापार आगामी ५ वर्षभित्रमा ४५ देखि ५० अर्ब डलर बराबरको हुने अपेक्षा गरिएको छ ।
केही समययता चीनसँग आफ्नो व्यावसायिक सम्बन्धमा चिसोपना आएसँगै अस्ट्रेलियाले आफ्ना उत्पादन निर्यातका लागि अन्य बजारको खोजीमा तीव्रता दिएको हो । सोही क्रममा भारतसँग भइरहेको आफ्नो व्यापार सम्झौतालाई अस्ट्रेलियाले अझ सुदृढ गरेको हो । अस्ट्रेलियाका व्यापार तथा पर्यटनमन्त्री डान फारेलले एक विज्ञप्ति जारी गर्दै नयाँ सम्झौताले अस्ट्रेलियाली निर्यातकर्ताको वार्षिक रूपमा २ अर्ब डलर बचत हुने र उपभोक्ता तथा व्यवसायले तयारी वस्तु आयातमा करिब आधा अर्ब डलर बचत गर्ने जनाएका छन् । अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सम्झौतालाई भारतससँगको सम्बन्ध थप उचाइमा पुर्याउने अर्को चरणका रूपमा व्याख्या गरेका छन् ।
सम्झौताअनुसार अस्ट्रेलियाले आफ्ना खनिज, कस्मेटिक, माछालगायतका वस्तु निर्यातमा अझ सहजता पाउने बताइएको छ । यसका साथै यहाँ उत्पादन हुने वाइनका लागि समेत भारतीय बजार अझ सहज हुनेछ । सम्झौताअन्तर्गत अस्ट्रेलियाले हरेक वर्ष एक हजार भारतीय नागरिकलाई वर्क होलिडे भिसा प्रदान गर्ने भएको छ । अस्ट्रेलिया घुम्न आउने १८ वर्षदेखि ३० वर्षसम्मका योग्य भारतीय नागरिकले एक वर्षसम्म वर्किङ होलिडे भिसा पाउनेछन् । अहिलेसम्म उक्त भिसा दक्षिण एसियाली देशलाई उपलब्ध गराइएको थिएन ।
कहाँ चुक्दै छ नेपाल ?
अस्ट्रेलियाले भारतसम्म पुगेर आफ्नो व्यावसायिक तथा कूटनीतिक सम्बन्ध विस्तार गरिरहेको सन्दर्भमा नेपालको उपस्थिति भने औपचारिकतामा मात्र सीमित छ । नेपालले पनि कूटनीतिक पहलमार्फत आफ्नो हितका लागि यस अवसरलाई उपयोग गर्नुपर्नेमा विज्ञहरूले आवाज उठाइरहेका छन् । तर पनि नेपालले अझैसम्म अस्ट्रेलियाबाट वार्षिक करिब ३ करोड १० लाख डलर बराबरको सहायता पाउनुबाहेक कुनै उल्लेख्य काम हुन सकेको छैन ।
हुन त नेपालको अस्ट्रेलियासँग सधैंको व्यापार घाटा छ । गत आर्थिक वर्षको तथ्यांक मात्र हेर्ने हो भने पनि नेपालको अस्ट्रेलियासँग करिब १८ करोड डलर बराबरको व्यापार घाटा छ । उक्त तथ्यांकलाई हेर्दा अस्ट्रेलियासँग नेपालले भारतले पाएजत्तिकै सुविधा र सम्झौता पाउने सम्भावना नरहेको कतिपयको भनाइ छ । तर पनि आफ्नो छिमेकी मुलुकमा गएर त्यो स्तरको व्यावसायिक सम्झौता गरिसकेको र वार्षिक एक हजार कामदार भित्र्याउने नीति लिइसकेको खण्डमा नेपालले कूटनीतिक रूपमा पहल गरेको खण्डमा नयाँ सम्झौता हुन सक्ने तर्क जानकारहरूको छ । नेपालले अस्ट्रेलियास्थित आफ्नो दूतावासमार्फत मात्र नभई सरकारीस्तरमै कूटनीतिक पहल गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
लामो समय अस्ट्रेलिया सरकारको आर्थिक सल्लाहकार रहेका डा. कृष्ण हमाल नेपालले अस्ट्रेलियाबाट धेरै नपाए पनि अहिले पाइरहेको तुलनामा अझ बढी सुविधा पाउन सक्ने बताउँछन् । तर त्यसका लागि कूटनीतिक पहल नै आवश्यक रहेको उनको सुझाव छ ।
नेपालले अस्ट्रेलियासँग सचिवस्तरीय द्विदेशीय कूटनीतिक संयन्त्र स्थापना गरेको ४ वर्षपछि दोस्रो बैठक हालै गरेको छ । तर उक्त संयन्त्रले नेपालको हितमा के गरिरहेको छ भन्ने केही खुलस्त पार्न सकेको छैन । अर्कोतिर व्यावसायिक सम्बन्ध विस्तारका लागि महत्त्वपूर्ण मानिएको हवाई सम्झौता भएको ३ वर्ष बितिसक्दासमेत त्यसबारेमा हालसम्म केही प्रगति सार्वजनिक गरिएको छैन । सिड्नीस्थित व्यवसायी तथा एनआरएन केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारी नेपाल कूटनीतिक रूपमा सक्रिय भएको खण्डमा अस्ट्रेलियाबाट धेरै फाइदा लिन सक्ने बताउँछन् ।
नेपालको राजनीतिक नेतृत्व आन्तरिक खिचातानीमा अल्झिरहेको र अस्ट्रेलियास्थित कूटनीतिक नेतृत्व पनि स्थिर नराख्ने संस्कारले कुनै प्रगति हुन नसकेको उनको भनाइ छ । ‘नत्र भारतसम्म पुगेर यो लेबलको सम्झौता र सम्बन्ध विस्तार गरिरहेको अस्ट्रेलियाबाट नेपालले धेरै फाइदा लिन सक्नुपर्छ,’ उनले भने । अस्ट्रेलियामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा पनि नेपाली तेस्रो स्थानमा रहनु र राजनीतिक तथा सामाजिक रूपमा समेत आफ्नो प्रभाव बढाउँदै गएकाले समेत कूटनीतिक पहल भएमा धेरै फाइदा लिन सकिने अधिकारी बताउँछन् ।
अस्ट्रेलियास्थित नेपाली राजदूत पूरा कार्यकाल बिताउन नपाउँदै फर्कनुपर्ने बाध्यताका कारण पनि नेपालले कुनै फाइदा लिन नसकेको देखिन्छ । गएको ४ वर्षमा अस्ट्रेलियाका लागि नेपाली राजदूत तीन पटक फेरिइसकेका छन् । तर क्यानबेरास्थित नेपाली दूतावासका अधिकारीहरू भने कूटनीतिक रूपमा अस्ट्रेलियाबाट पाउन सक्ने थप सहयोगका लागि पहल भइरहेको दाबी गर्छन् । उनीहरूले यहाँस्थित मन्त्री तथा अन्य उच्च अधिकारीसँगको भेटमा वर्किङ होलिडे भिसालगायत विभिन्न विषयमा अनुरोध गरिरहेको तर निर्णय नआइसकेको बताउँछन् ।
