सार्वजनिक जग्गामा बनेका संचरनामा डोजर चलाइँदै
म्याग्दी : बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना डोजर लगाएर हटाउन सुरु गरेको छ।
बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो। शुक्रवार बेनी नगरपालिका– ८ मा पर्ने काली पुलको बसपार्क क्षेत्रमा निर्माणाधीन बसपार्क क्षेत्रभित्र रहेका अव्यवस्थित संरचना हटाइएको हो।
काली पुल बसपार्कलाई विस्तार र निर्माणका लागि सञ्चालन भएको पूर्वाधार योजनालाई पूर्णता दिन अव्यवस्थित रूपमा रहेको टिकट काउन्टर, सार्वजनिक शौचालय र भवन हटाएको वडाध्यक्ष उत्तम कर्माचार्यले बताए।
उनका अनुसार, अव्यवस्थित रुपमा सार्वजनिक जग्गामा सञ्चालित रेष्टुरेण्टलाई समेत एक साताभित्र हटाउने तयारी भएको छ। ‘बसपार्क व्यवस्थित बनाउन यहाँका अव्यवस्थित संरचना हटाइएको हो, रेष्टुरेण्ट सञ्चालकले एक साताभित्र आफैँ खाली गर्छु भनेपछि समय दिएका छौँ’, वडाध्यक्ष कर्माचार्यले भने। बसपार्कलाई व्यवस्थित बनाउन त्यहाँ रहेका भौतिक संरचना डोजर चलाएर हटाउन थालिएको हो।
नगरपालिकासँग सार्वजनिक जग्गा भाडामा लिएर बसेकाहरूले सम्झौताको म्याद सकिएको र नगरपालिकाले पटक पटक ताकेता गर्दा समेत अटेर गरेपछि नगरपालिकाले डोजर लिएर अव्यवस्थित संरचना हटाउन सुरु गरेको जनाएको छ। शुक्रबार कालिपुल बसपार्क निर्माणस्थलमा पर्ने यातायात कम्पनीको दुई वटा टिकट काउन्टर, क्लबको भवन, सार्वजनिक शौचालयलगायतका अव्यवस्थित संरचना हटाइएको छ।
नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको पर्खाल पनि भत्काइएको छ। सघन शहरी तथा भवन डिभिजन कार्यालय बागलुङले काली पुल बसपार्कको गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुर्याएको छ। भवन निर्माण आसपासका क्षेत्रमा बसपार्क ढलानका लागि संरचना भत्काइएको नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए।
उनका अनुसार, बजारभित्रका अन्य क्षेत्रमा रहेका अव्यवस्थित भौतिक संरचना समेत क्रमिक रूपमा हटाइनेछ। २०७४ मा तयार पारिएको कालीपुल बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अहिले भौतिक संरचना निर्माण भइरहेको छ। यसका लागि २१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
नगरपालिका कार्यालय अगाडि म्याग्दी नदीमाथि रहेको मोटरेबल पुलको हाँडेभिरतर्फ अतिक्रमण गरेर बनाइएको संरचना हटाएर त्यहाँ पनि जीप पार्क बनाउने तयारी गरेको नगरप्रमुख केसीले जानकारी दिए। ‘नगरपालिकाले पुल अतिक्रमण गरेर व्यवसाय गरेकासँगको सम्झौताको म्याद यसअघि नै सकिएकाले सो ठाउँ छाड्न पटकपटक पत्राचार गरेकोे छ, दुई वर्षदेखि भाडा पनि लिएका छैनौँ। अब बजेट विनियोजन भएर निर्माण व्यवसायिक कार्यक्षेत्रमा परिचालन हुनासाथ त्यहाँका अव्यवस्थित तवरले बनाइएको संरचना पनि हटाउँछौँ’, प्रमुख केसीले भने।
पुल नजिकै भएका अतिक्रमण हटाएर बागलुङ, भकिम्ली र बरञ्जा चल्ने जिप तथा बस पार्किङ स्थल बनाउने नगरपालिकाको योजना छ। जिल्ला प्रशासन कार्यालय अगाडिको सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँग पनि नगरपालिकाले सम्झौता नवीकरण गरेको छैन।
त्यहाँ नाली निर्माणसँगै पार्किङ बनाउन व्यवसायीलाई हट्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बेनी नगरपालिका–८ कालीपुलको पुरानो बजारको एक रोपनीभन्दा बढी अतिक्रमण हटाएर उद्यान बनाइएको छ।
बेनीको सार्वजनिक जग्गा, पुल, खोल्सा र सडक अतिक्रमण गरेर घर, अस्थायी टहरा बनाएका छन्। नगरपालिकासँग सम्झौता गरी सार्वजनिक जग्गा भाडामा लिएर व्यवसाय गरेका कतिपयले वर्षौंदेखिको बक्यौता तिरेका छैनन्। केहीले सस्तोमा सार्वजनिक जग्गा भाडामा लिएर अरुलाई महँगोमा भाडामा लगाउने पनि गरेका छन्।
