मधेसबाट सिक्किम नियाल्दा !
यसपालिको दसैँ बिदामा खोज पत्रकारिता केन्द्रको टोलीसँगै सिक्किम जाने मौका जुर्यो । यात्रामा केन्द्रका अध्यक्ष चन्द्रकिशोरसँगै देशका अन्य दिग्गज पत्रकार पनि सहभागी थिए । टोलीमा पूर्वराष्ट्रपतिका प्रेस सल्लाहकार एवं खोज पत्रकारिता केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र दाहाल, उपाध्यक्ष निर्मला शर्मा, महासचिव रामजी दाहाल, इकागजका सम्पादक हरि थापा, अन्नपूर्णपोस्टका पूर्वसम्पादक राजाराम गौतम, कान्तिपुर दैनिकका झापा संवाददाता पर्वत पोर्तेल र खोज रिर्पोटिङ गर्दै आएकी चितवनकी प्रतिमा सिलवालसँगै म पनि सहभागी भएँ ।
विर्तामोडको बोर्डर क्रस गरी हाम्रो गाडी सिक्किमको गान्तोकतिर अघि बढ्यो । टिस्टा नदीको किनारैकिनार हामी गान्तोकतिर अघि बढिरह्यौँ । गान्तोक पुग्नुअघि रंग्पु भन्ने ठाउँमा इन्ट्री गरियो । इन्ट्री गर्न प्रेस क्लब अफ सिक्किमका पत्रकारहरूले समन्वय गरे । इन्ट्रीपछि पहाडका सुन्दर दृश्य छिचोल्दै गान्तोक पुग्यौँ । गान्तोक पुग्नेबित्तिकै मनमा लाग्यो,‘यहाँका नागरिकले ‘सिक्किमीकरण’बारे के भन्छन् होला ? नेपालको मधेसबारे यहाँका मानिसहरूको बुझाइ कस्तो होला ? कतिपयले भन्ने गरेझैँ के साँच्चै नेपाल सिक्किमीकरणको बाटोमा छ ?’
मधेसमा आन्दोलन हुँदा हल्ला चलाइएको थियो– अब मधेसलाई भारतमा विलय गराउँछ । गान्तोक टेक्नेबित्तिकै लागिरह्यो, आखिर सिक्किममा के रहेछ, जहाँको उदाहरण दिँदै ‘राष्ट्रवादी’हरूले ‘सिक्किमीकरण’को भाष्यलाई जोडबल दिने गर्छन् ।भेटघाटसँगै हामीले सिक्किमको हनुमानटक, गणेशटकजस्ता धार्मिकस्थलको भ्रमण ग¥यौँ । अंग्रेजकालमा स्थापना गरिएको गभर्नरको कार्यालयमा पनि पुग्यौँ । त्यहाँ हामीले सिक्किमका गभर्नर गंगाप्रसाद चौरसियालाई भेट्यौँ । उनले नेपाल–भारतको सम्बन्ध प्रगाढ रहेको र आफू बिहारनजिकै पटनानिवासी भएकाले नेपाल–भारतको सम्बन्धलाई धेरै नजिकबाट नियालिरहेको पनि बताए । सिक्किममा सुधारका काम धेरै भएको उनलेचर्चा गरे ।
गर्भनर र पत्रकारहरूसँगको भेटपछि हामी सिक्किमकै पुरानो पुस्तक पसलको रूपमा रहेको रत्न पुस्तक पसल पुग्यौँ । त्यहाँ जाँदा पनि सिक्किमीकरणकै बारेमा जान्ने र मधेसलाई हेर्ने नजरियाबारे बुझ्ने जिज्ञासा लागिरह्यो । देशमै ख्याति कमाएका अग्रज पत्रकारसँगको टोलीमा हुँदा सिक्किम बुझ्ने र मधेसबाट सिक्किम नियाल्ने अवसर पाएँ । त्यसैले पत्रकार, नागरिक अगुवा, प्राध्यापक, संघसंस्थाका पदाधिकारी र आमनागरिकसँगको भलाकुसारीमै समय बित्यो । भेटघाटपछि बुझियो, काठमाडौंले स्थापित गर्न खोजेको भाष्य सिक्किममा छैन ।
काठमाडौंले मधेसलाई वेलावेलामा सिक्किमीकरणको डर देखाउँछ । तर, त्यहाँ पुगेपछि बुझियो, खासमा त्यो भाष्य गलत रहेछ । मधेसमा आमनागरिकले सिक्किमबारे खासै चासो दिएको देखिन्न । संघीयता आएपछि आठ जिल्लामा सीमित बनेको मधेस प्रदेशबाट सिक्किम भ्रमण प्राथमिकतामै पर्दैन । सिक्किमको साटो मधेसीहरू पश्चिम बंगालको दार्जिलिङतिर पुग्छन् । मधेसबाट सीमित मात्रै मान्छे सिक्किममा घुम्न पुग्छन् ।
गान्तोक पुग्नेबित्तिकै मनमा लाग्यो, ‘यहाँका नागरिकले आफ्नो ठाउँबारे के भन्छन् होला ? नेपालको मधेसबारे यहाँका मानिसहरूको बुझाइ कस्तो होला ?
सिक्किमका पत्रकार, प्राध्यापक र ब्युरोक्र्याट्सहरूको एउटा मूल चासो देखियो, ‘नेपालले भारतलाई किन गाली गर्छ ?’ मधेसबारे सूचना राख्ने त्यहाँका पत्रकारहरूले भने,‘मधेसको सवाल आउँदा सिक्किमीकरण हुन्छ भन्दै डबल स्ट्यान्डर्डको कुरा किन गर्छन् ?’ मधेसीले आफ्नो अधिकार र पहिचानको मुद्दा उठाउँदा ‘अलग भएर भारतमा गाँभिन्छन्’ भन्दै नानाथरीका आरोप लगाउनु उपयुक्त नभएको उनीहरूको बुझाइ पाएँ ।
सिक्किमप्रति काठमाडौंले त्यति चासो राख्नुनपर्ने र सिक्किम भारतको अभिन्न अंग भएको उनीहरूको भनाइ थियो । काठमाडौंले मधेसको पहिचान, भाषा र साहित्यको विकासमा सघाउँदै संघीयतालाई संस्थागत गर्न जोड दिनुपर्ने सिक्किमेलीहरूको धारणा पाएँ ।
एमजी मार्केट
सिक्किम भ्रमणमा जानेहरूको मुख्य गन्तव्य नै गान्तोकमा रहेको ‘एमजी मार्केट’ हुनेरहेछ । महात्मा गान्धी बजार (एमजी मार्केट)मा राति अबेरसम्म चहलपहल देखियो । एमजी मार्केट पर्यटकहरूका निम्ति बस्न, खान, किनमेल गर्ने केन्द्र रहेछ । त्यहाँ धेरैजसो पश्चिम बंगालका पर्यटकहरूको आउजाउ देखियो । त्यहाँको पर्यटन व्यवसाय नै एक प्रकारले पश्चिम बंगालका पर्यटकहरूमा निर्भर रहेछ । पूर्वी नेपालका विभिन्न जिल्लासहित पोखरा, काठमाडौंलगायतका स्थानबाट पनि त्यहाँ घुम्न जानेहरू भेटिए ।
घरैपिच्छे रोजगारी र शिक्षा
सिक्किमको सबैभन्दा आकर्षण जागिर सरकारी सेवा रहेछ । ६ लाख ७१ हजार जनसंख्या रहेको सिक्किममा प्रत्येक परिवारबाट एक–दुईजना सरकारी नोकरीमा रहेछन् । सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङले ‘ओएफओजी’ अर्थात् ‘वन फेम्ली, वन जब’को नारालाई अगाडि बढाएका रहेछन् । त्यो नारालाई बहालवाला मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि निरन्तरता दिएको देखियो ।
मुख्यमन्त्री तामाङको प्रेस सेक्रेटरी विकास बस्नेतसँग हामीले कुराकानी गर्यौँ । त्यस दौरान उनले ‘वन फेम्ली, वन जब’अन्तर्गत एक लाख २५ हजार सिक्किमेली सरकारी जागिरे भएको बताए, जसमा महिलाको संख्या बढ्दो क्रममा रहेछ । बस्नेतअनुसार मुख्यमन्त्री तामाङकै पछिल्लो तीन वर्षको कार्यकालमा १० हजार सिक्किमेली नागरिकले सरकारी सेवामा प्रवेश पाएका छन् ।
गान्तोकमा रहेको मणिपाल मेडिकल कलेजमा एमबिबिएसको एक सय सिटमध्ये ५० सिट आरक्षित गरी स्थानीय विद्यार्थीका लागि निःशुल्क गरिएको रहेछ । यसले यहाँका गरिब परिवारका छोरोछोरीलाई मेडिकल शिक्षामा पहुँच पुर्याएको रहेछ । सिक्किममा नौवटा विश्वविद्यालय र २७ वटा महाविद्यालय छन् । गुणस्तरीय शिक्षाका कारण सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण उत्साहजनक रहेछ ।
त्यो सिक्किम
सिक्किम के हो र सिक्किमीकरण कसरी भयो भन्ने कुरा जान्ने मेरो चाहना थियो । ‘एक्सपोजर भिजिट’को दौरान त्यहाँ भेटिएका पत्रकार, प्राध्यापक, पूर्वब्युरोक्र्याट्ससँग यही विषयमा जान्ने कोसिस गरेँ । सिक्किम भारतमा सन् १९७५, मे १६ मा गाभियो । जसका निम्ति सिक्किममा जनमतसंग्रह भयो । जनमतसंग्रहमा भारतमा गाभिने निर्णय भएपछि सिक्किम भारतको २२औँ राज्य बन्न पुग्यो । भारतले आफ्नो संविधानमा ३५औँ संशोधन गर्दै सिक्किमलाई पूर्ण राज्यको दर्जा दियो ।
सिक्किम भारतकै सबैभन्दा कम जनसंख्या भएको राज्य हो । क्षेत्रफलका हिसाबले गोआ राज्यपछिको दोस्रो सानो राज्य हो, सिक्किम । यहाँको क्षेक्रफल सात हजार ९६ वर्गकिलोमिटर छ । सिक्किम उत्तरमा तिब्बत, पूर्वमा भुटान, पश्चिममा नेपाल अनि दक्षिणमा भारतको पश्चिम बंगालसँग सीमा घेरिएको राज्य हो । नेपाली, भुटिया र लेप्चा राष्ट्रिय भाषा रहेकोमा पछि थप्दै ११ भाषालाई राष्ट्रिय भाषाको मान्यता दिइएको छ ।
सिक्किम राज्यको पहिलो मुख्यमन्त्रीका रूपमा काजी लेन्डुप दोर्जेले केही समय शासनसत्ता सम्हाले । सन् १९७९ को निर्वाचनको नजितापछि नरबहादुर भण्डारी तीन कार्यकाल मुख्यमन्त्री भएर १४ वर्षसम्म सरकार चलाए । बिबी गुरुङ १३ दिन र सञ्चमान लिम्बूले ६ महिना सिक्किम सरकार चलाए । त्यसपछि पवन चाम्लिङ सन् १९९४ देखि २५ वर्षसम्म मुख्यमन्त्री भए । सन् २०१९ को आमचुनावपछि प्रेमसिंह तामाङ सिक्किमका मुख्यमन्त्री छन् ।
(२०७९ पौष ९ शनिबार नयांपत्रिका दैनिकमा प्रकाशित सुरेन्द्र कामतीकाे सिक्किम भ्रमण रिपोर्टबाट)
