तमु समुदायको गौरवशाली परम्परालाई सरकारले सधैँ सम्मान गर्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएका छन्।
तमु ल्होसारको अवसर पारेर शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।
उनले इमान्दारी, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमू समूदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको पनि स्पष्ट पारे। तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको सम्मान गर्ने कामलाई सरकारले प्राथमिकता राख्नेसमेत बताए।
उनले तमु समूदाय विश्वभर इमान्दारी, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित भएको समेत स्मरण गराए। त्यस अवसरमा प्रधानमन्त्री दाहालले तमु ल्होसारका लागि सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउने प्रतिवद्धता व्यक्त गरे।
उनले तमु ल्होसारको कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन पनि सुरक्षाकर्मीहरुलाई निर्देशन दिए। प्रधानमन्त्री दाहालले भने, ‘आफ्नो इमान्दारिताका कारण, लगन, निष्ठा र मेहनतका कारण, आफ्नो वीरता र बलिदानको कीर्तिमानका कारण नेपाली मात्रमा एउटा गर्वको एउटा पहिचान भएको छ भने विश्वभरीका लागि पनि इमान्दारिता, पारदर्शीता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित छ। त्यसकारण हामीले या तमु ल्होसार मनाउँदै गर्दा तमू समुदायले आर्जन गरेको, उनका पूर्खाहरुले आर्जन गरेको तमू युवायुवतीहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको यो गौरवशाली परम्परालाई हामी उच्च सम्मान गर्न चाहन्छौं।’
समारोहमा तमु समुदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीहरुसहितको नृत्य प्रस्तुत गरेका थिए। प्रधानमन्त्री दाहालले तमु समुदायको सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रुपमा चित्रण गरेका थिए।
