चीन आर्थिक वृद्धिमा अमेरिकासँग प्रतिस्पर्धा नगर्ने
अमेरिकाले चीनको उन्नतिप्रतिको नकारात्मक आसक्तिलाई त्याग्ने हो भने चीन र अमेरिका दुवैलाई लाभ हुने सम्भावना रहन्छ
एजेन्सी ।
यही सोमबार ब्लुमबर्गले आगामी दशकमा चिनियाँ अर्थतन्त्रका चार सम्भावित अवस्थाको जानकारी सम्प्रेषण गरेको छ र सो अवधिमा बाँकी विश्वले भन्ने गरेअनुसार चीनले अमेरिकालाई उछिन्ने अनुमान गलत हुने सम्भावना रहेको जनाएको छ । हालैका वर्षमा अमेरिका र पश्चिमा जगत्को सबैभन्दा बढी चासोको विषयमा चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) अमेरिकाको भन्दा बढी हुने वा नहुने भन्ने पनि परेको छ । अधिकांश समय अमेरिका र पश्चिमा जगत् सार्वजनिक वृत्तमा आफैँबीच चीनको जिडिपी बढ्ने–नबढ्नेबारे पक्ष–विपक्ष बहस गर्छन्, अनुमान गर्छन्, सहमति जनाउने वा झगडा गर्ने कामसमेत गर्छन् ।
अमेरिकामा पहिलोपटक सतहमा आएको ‘जिडिपीमा चीनले अमेरिकालाई उछिन्न सक्छ’ भन्ने भाष्यले अमेरिकीमाझ ठूलो मात्रामा डर पैदा गरेको छ । हाल अमेरिकाले ‘उछिन्न सक्ने समय’ केही पर सर्नेछ वा ‘चीनको जिडिपी अमेरिकाको स्तरमा पुग्ने नै छैन’ भन्ने भविष्यवाणी पनि प्रसारण गरिरहेको छ । अचम्मको कुरा के छ भने यी आकलनका बाबजुद पनि चीनको प्रगतिलाई लिएर वासिंगटनका कुलीन वर्गको चिन्ता भने कम भएको छैन । यो तप्का चीनले ‘केही गर्नेछ’ भन्छ र यसैले ‘केही गर्न सक्दैन’ भनेर पनि दाबी गर्छ । चीनले उछिन्ने भन्ने विषयले केही हदसम्म केही अमेरिकीको भित्री द्वन्द्वलाई प्रतिनिधित्व गर्छ ।
चीनको आर्थिक वृद्धि योजनाले अमेरिका वा अन्य कुनै राष्ट्रको वृद्धिलाई उछिन्ने लक्ष्य राखेको छैन, बरु चीन आफ्नै लक्ष्यलाई उछिन्नेमा बलियो गरी जोड दिन्छ । किनभने, राष्ट्रको जिडिपी वृद्धिदर अन्ततः राष्ट्रको आन्तरिक मामिला हो । धेरै चिनियाँ वासिंगटनले चीनको जिडिपीमाथि राखेको चासो देखेर चकित हुन्छन् । चिनियाँ जनता नाफा वा घाटालाई लिएर चिन्तित छैनन् किनभने चिनियाँ जनता चीनको जिडिपी बढ्नु वा अमेरिकालाई उछिन्नु वा नउछिन्नुलाई एकदमै स्वाभाविक प्रक्रिया मान्छन् ।
व्यावहारिक चिनियाँ जनता जिडिपी वृद्धिभन्दा आफ्नो जीवनस्तर बढ्दै गएको, वातावरणमा सुधार भइरहेको र विकासका सम्भावना बढे–नबढेको विषयमा चासो राख्छन् । चिनियाँ यी लक्ष्य पूरा गर्न हरेक दिन अथक प्रयास गर्छन् । लगनशीलता र प्रतिभा भएका चिनियाँ जनताका यी साझा, वास्तविक एवं विनम्र आकांक्षाले नै चीनको आर्थिक वृद्धिलाई बल दिने ठूलो इन्जिनको काम गर्छ । चीनको विकास विचारधाराले उच्च गुणस्तरीय विकासमा बलियो जोड दिएको छ र यो जनकेन्द्रित छ । त्यसकारण चीनका लागि मात्राभन्दा पनि गुणस्तर मुख्य उद्देश्य हो । निःसन्देह मात्राको महत्व छ, तर हामी जिडिपी वृद्धिलाई सफलताको विशेष मापदण्डका रूपमा प्रयोग गर्न सक्दैनौँ । समयसँगैको सन्तुलन, समन्वय र दिगोपनले चीनको आर्थिक वृद्धिमा सुधार ल्याएको छ । यसले ‘गुणस्तर’मा भएको सुधारलाई जनाउँछ र यो चिनियाँ जनताको सक्रिय एवं समन्वयात्मक प्रयासको परिणाम हो ।
यसलाई अर्को शब्दमा भन्ने हो भने चीनको प्रगति विश्वको शीर्ष स्थानमा पुग्नु कसैसँग प्रतिस्पर्धा गर्ने, कसैलाई विस्थापित गर्ने वा कसैसँग हानथाप गर्ने विषय नै होइन । बरु, चीन आफैसँग प्रतिस्पर्धा गर्छ । आजको चीनका लागि महाशक्तिसँग ‘तुलना’ भन्दा पनि असमान र अपर्याप्त विकासको समस्या समाधान खोज्नमा केन्द्रित हुनु धेरै महत्वपूर्ण छ । चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीको १९औँ राष्ट्रिय महाधिवेशनले चीनलाई सबै हिसाबले एक महान् आधुनिक समाजवादी मुलुकका रूपमा निर्माण गर्ने रणनीतिक योजनाको रूपरेखा प्रस्तुत गरेको छ । त्यसैगरी आगामी २०औँ चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशनले एक महान् आधुनिक समाजवादी मुलुक चीन निर्माणका लागि ‘दुई चरण’को रणनीतिक योजनाको परिकल्पना गर्नेछ । जहाँ महाधिवेशन अपर्याप्ततालाई सम्बोधन गर्न, कमजोरीका क्षेत्रलाई बलियो बनाउन, आधारलाई सुदृढ गर्न र शक्तिलाई पूर्ण रूपले प्रयोग गर्नेमा केन्द्रित हुनेछ ।’ यसले चीनको आफ्नै विकासमा ध्यान केन्द्रित गर्ने निरन्तर एवं अटल मनोवृत्तिलाई दर्साउँछ ।
निःसन्देह जिडिपी एक महत्वपूर्ण आर्थिक तथ्यांक हो, जसले हामीलाई हाम्रो वर्तमान अवस्था र भविष्यका लागि योजना बनाउन मद्दत गर्न सक्छ । जे होस्, सबैभन्दा महत्वपूर्ण विषय भनेको जिडिपीले मानिसको सुरक्षा, आनन्द र लाभको भावनालाई कसरी असर गर्छ भन्ने हो । तथ्यांकअनुसार विश्वमा दोस्रो वा पहिलो हुनु विकासको अन्तिम उद्देश्य होइन र यसले मानिसले आफ्नो जीविकोपार्जनबारे कस्तो महसुस गर्छन् भन्ने विषयलाई प्रतिस्थापित गर्दैन । अन्ततः चिनियाँ जनताले सधैँ आफ्नो जीवनको गुणस्तर सुधार गर्न र विश्व समुदायमाझ सम्मान प्राप्त गर्न काम गरिरहन्छन् । हामी कसैलाई सताउने वा धम्की दिने काम गर्दैनौँ र त्यसैगरी अरूले पनि हामीलाई धम्की दिने वा सताउने काम नगरून् भन्ने अपेक्षा गर्छौं । वास्तवमा राष्ट्रले विश्वव्यापीकरणको युगमा फलदायी सहयोगका लागि उत्कृष्ट सहयोगीको भूमिकामा रहनुपर्छ ।
वासिंगटन वा वासिंगटनका पृष्ठपोषकलाई चीनको जिडिपीले अमेरिकालाई उछिन्नेछ भन्ने विषयले भयाक्रान्त पारेको छ । हुँदाहुँदा अमेरिका चीनको विकासलाई रोक्न ‘डिकपलिङ’ अर्थात् व्यापारिक सम्बन्ध तोड्नेसम्मका जोखिम लिने कुरा पनि गर्छ । वास्तवमा अमेरिकाले डिकपलिङ गर्न आवश्यक छैन, किनभने चीन एक अर्थतन्त्र निर्माण गर्न समर्पित छ, जसले सबै चिनियाँ नागरिकलाई फाइदा पु¥याउनेछ र यसका साथै अमेरिकालगायत विश्वका बाँकी भागमा पनि आर्थिक वृद्धिको सम्भावना बढाउनेछ । यदि अमेरिकाले चीनको उन्नतिप्रतिको नकारात्मक आसक्तिलाई त्याग्ने हो भने चीन र अमेरिका दुवैलाई लाभ हुने अवस्था सिर्जना गर्ने सम्भावना रहनेछ ।
(चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको २५ असोजको सम्पादकीय)
