रेशम चौधरीलाई जेलमा सडाएर कसरी निर्वाचन गर्न सकिन्छ ?

सेयर गर्नुहोस

जनता समाजवादीकी सांसद नरमाया ढकाल (प्रज्ञा)ले सांसद रेशम चौधरीलाई कानुनविपरीत जेलमा सडाइएको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै ढकालले जनताले पत्याएको एउटा निर्दाेष व्यक्तिलाई जेलमा राखेर निर्वाचन गर्नु न्यायसंगत नहुने तर्क गरिन् ।

उनले निर्वाचनअगावै चौधरीको रिहाइको माग गरिन् । उनले भनिन्, ‘एउटा व्यक्ति जो निर्दोष छ र जसका विचार र नेतृत्वमा देशमा एउटा लहरै आइरहेको सन्दर्भमा उसलाई जेलभित्रै राखेर निर्वाचन गरिरहनु कत्तिको न्यायसंगत होला ? त्यसैले, निर्वाचनअगावै उहाँको रिहाइका लागि सम्माननीय सभामुखज्यूमार्फत नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु ।’

ad
आमनेपालीको संघर्ष र बलिदानको प्रतिफलमा आएको गणतन्त्रमा केही तुषहरू बाँकी नै रहेको बताउँदै ढकालले गणतन्त्र सबै जातजाति र वर्गका नागरिकको अधिकार सुनिश्चित गर्न ल्याइएको उल्लेख गरिन् । उनले उनले गणतन्त्र रेशम चौधरीजस्ता व्यक्तिलाई विना कुनै दोष जेलमा सडाउनका लागि नल्याइएको जिकिर गरिन् ।

निर्वाचनमा सेटिङ गरेर मात्रै जित्ने अवस्थामा पुगेका राजनीतिक दलहरूका लागि चौधरीले चुनौती दिएको उनको भनाइ छ ।

ढकालले रेशम चौधरीलाई दोषी करार गरेर जेल पठाउने अदालतको फैसलाबारे केही भन्न नचाहने भन्दै महाभियोग लगाएका प्रधानन्यायधीशले न्यायालय निष्पक्ष छैनन् र कतिपय न्यायधीशहरू राजनीतिक नेताहरूका प्रभावमा परेर फैसला गर्दछन् भनेर संसदीय समितिमा बोलेको कुराभित्र धेरै अर्थ रहेको उल्लेख गरिन् । त्यस्तै, अर्की सांसद पार्वती डिसी चौधरीले थारूको छोरो भएकै कारण रेशम चौधरीलाई जेलमा राखेको आरोप लगाइन् ।

Facebook Comments Box