अमेरिका र चीनको अन्तर द्वन्द्वलाई पक्ष-विपक्ष बनाउन चाहने एमसीसीमाथि भ्रम फैलाए’

सेयर गर्नुहोस

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाललाई बिजुली बेच्ने देश बनाउन अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्वीकार गरिएको बताएका छन् । गृह जिल्ला झापामा रहेका कांग्रेस महामन्त्री शर्माले देश बनाउन एमसीसी स्वीकार गरिए पनि अमेरिका र चीनको अन्तर द्वन्द्वलाई पक्ष-विपक्ष बनाउन चाहनेले एमसीसीमाथि भ्रम फैलाइ रहेको सुनाए ।

महामन्त्री शर्माले भने,’ मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देश बनाउन एमसीसी स्वीकार गरिएको हो ।अमेरिका र चीनको अन्तर द्वन्द्वलाई पक्ष-विपक्ष बनाउन चाहनेले एमसीसीमाथि नकारात्मक भावना भ्रमका रूपमा फैलाइरहेका छन् ।’

आन्तरिक आम्दानीले मात्र मुलुकमा विकासका ठूला आयोजना सञ्चालन गर्न नसकिने बताउँदै महामन्त्री शर्माले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको उल्लेख गरे ।

उनले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताए । शर्माले भने, “राजनीतिले विधि र प्रक्रिया निर्माण गरिदिने हो, सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरताका कारण विदेशी हस्तक्षेप बढ्ने गरेको छ ।’

मुलुकले तीव्र विकासको मार्गमा अघि बढ्न नसक्नुको कारण राजनीतिज्ञ सर्वज्ञता बन्ने प्रवृत्ति रहेको उनको भनाइ छ । विकास आयोजनाको वास्तविकता नबुझी दलका नेतृत्व लिएका नेताहरूले सबै थोक बुझेको शैलीमा काम गर्दा विकास परियोजना अलपत्र पर्ने गरेको उनले बताए ।

Facebook Comments Box