गाेली फायरिङमा इस्लामिक आतंकवाद रहेकाे नर्वे प्रहरीकाे भनाई
ओस्लो । नर्वेको राजधानी ओस्लोमा अन्धाधुन्द गोली प्रहार गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ परेका छन् ।
शनिबार भएको उक्त घटनामा दुईजनाको ज्यान मृत्यु भएको थियो । २१ जना घाइते छन् । त्यसमध्ये १० जनाको अवस्था गम्भीर छ । प्रहरीले घटनालाई ‘इस्लामिक आतंकवाद’को संज्ञा दिएको छ ।
नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोअरले संदिग्ध व्यक्तिलाई मेमहिनामा सोधपुछ गरिएको थियो । तर, त्यति बेला खतरा नमानिएको बीबीसीलाई बताएका छन् । “हामीले अब अनुसन्धानको नतिजा हेर्नुपर्छ,” उनले शनिबार राति बीबीसीको न्युजआवर कार्यक्रममा भने ।
स्थानीय समयानुसार शनिबार दिउँसो १ः१५ बजे गोलीबारी सुरु भएको थियो । संदिग्ध व्यक्तिले आफ्नो झोलाबाट बन्दुक निकाली गोली चलाउन थालेका थिए । आत्तिएका मानिस कोही भुइँमा झुकेर बसेका थिए, कोही भागेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आक्रमणकारीलाई प्रत्यक्षदर्शीको सहयोगमा घटनास्थलबाटै पक्राउ गरिएको थियो । घटनास्थलबाट प्रहरीले दुई हतियार समेत बरामद गरेको छ । त्यसमध्ये एउटा पूर्ण स्वचालित बन्दुक छ ।
अधिकारीहरूका अनुसार शंकास्पद व्यक्ति नर्वेली नागरिक भएको खुुलेको छ । नर्वेमा आतंकवाद हमलालाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता अपनाइएको बीबीसीले जनाएको छ ।
