नेपालतर्फ चीनको अघोषित नाकाबन्दी कायमै

सेयर गर्नुहोस

नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक घोषणा गरेको चीन सरकारको निरन्तरको अवरोधको नकरात्मक असर नेपालको अर्थतन्त्रमा देखिन थालेको छ। नेपाल चीन व्यापारमा संलग्न व्यवसायी, चीन सरकारले विभिन्न बहानाबाजी गरेर तातोपानी र केरुङ नाकाबाट निर्वाद भइरहेको व्यापारलाई अघोषीत रुपमा तहसनहस बनाएको छ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार तातोपानी र केरु¨ दुवै नाका बाट सहजरुपमा सामान आयात हुने मौसम अब गुज्रिएको छ। वर्षा लागेपछि यी दुबै नाका बाढी र पहिरोले अस्तव्यस्त हुन्छन्। अहिले वर्षाका लागि लक्षित गरेर लोड भएका कपडा तथा अन्य सामान चिनियाँ अधिकारीले नेपाल पठाउन अवरोध गरिरहेका छन्।

सन् २०२० को सुरुबाटै वुहान सहरमा देखिएको कोभिड–१९ संक्रमणको कारण विभिन्न किसिमका प्रतिबन्ध लगाएर नेपालतर्फको व्यापार प्रभावीत बनाइएको थियो। त्यसपछि सम्पूर्ण विश्व कोरोना महामारीको संक्रमणबाट मुक्त भएर अहिले खुला परिवेशमा फर्किसकेको छ। तर, नेपाल चीन सीमा क्षेत्रमा चीनले लगाइरहेको प्रतिबन्ध र निगरानी उस्तै छ।

कोभिड नियन्त्रणका लागि भन्दै दुई बर्षयता पूर्णरुपले आवतजावत ठप्प बनाएको चीनले त्यसअघि पनि २०७२ सालको भूकम्पका कारण तातोपानी नाका थप असुरक्षित बनेको भन्दै नेपालतर्फ आयात हुने सबै कन्टेनरलाई केरुङ नाकातर्फ केन्द्रित गराएको थियो। तर, त्यसपछि न केरुङ नाका व्यवस्थित् भयो न चीनले प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनायो। परिणामः नेपाली व्यवसायीले करोडौंको एलसी खोलेर मगाएको सामान बोकेका कैयौं कन्टेनर चीनका विभिन्न सहरमा महिनौं रोकिन थाले।

कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको समयमा विश्वका अधिकांश मुलुकमा नियमित सामान निर्यात गरेको चीनले नेपालतर्फको नाका भने धेरै पटक एकपक्षीय रूपमा बन्द गरेको छ।

चीनका विभिन्न सहरमा अहिले पनि कोरोना महामारीविरुद्धको प्रतिबन्ध उस्तै छ। तर, विस्तारै रोकिएको हवाई सेवा सुचारु भएको छ। परिवर्तित् सन्दर्भमा, अब व्यापार सहज हुने अपेक्षा हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको छ। झन्डै साढे दुई वर्षदेखि नेपालमा रोकिएका विद्यार्थी फर्किन थालेका छन्, अब यात्रा सहज हुन्छ तर चीन तर्फका दुबै भन्सार नाका मौसमका कारण असहज बन्ने समय सुरु भइसकेको छ, श्रेष्ठले भने, नेपाली व्यवसायीले दुई वर्षयता मौसम अनुसारको सामान ल्याउन बन्दरगाहको बाटो प्रयोग गरिरहेका छन्। चिनियाँ अधिकारी तिम्रो सरकारसँग कुरा गर भनेर पन्छिई रहेको तर परराष्ट्रमन्त्रालयले थालेको पहलसमेत सफल नभएको अध्यक्ष श्रेष्ठले बताए। यसमा चिनियाँ पक्षकै नियतमा समस्या छ।

व्यवसायिका अनुसार, २०७२ सालको विनासकारी भूकम्पपछि चिनियाँ पक्ष आफैंले मर्मत गरेर सञ्चालनमा ल्याएको तातोपानी भन्सार नाका अहिले पनि समस्याग्रस्त छ। २०७६ साल जेठ १५ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उद्घाटन गरेको नाकाबाट अहिले पनि मुस्किलले दैनिक १० वटा कन्टेनर भित्रिइरहेका छन्। त्यो पनि नियमित छैन। सयौं कन्टेनर चीनका विभिन्न सहरमा राजमार्ग दायाँबायाँ पालो पर्खेर बसेका छन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुर श्रेष्ठका अनुसार, तातोपानी नाका नियमित नहुँदा चीन सरकारले करोडौं खर्चेर निर्माण गरिदिएको लार्चाको सुक्खा बन्दरगाहसमेत प्रयोगबिहीन बनेको छ। तातोपानी नाका उस्तै छ, केरुङमा अहिले कन्टेनर पुग्नै महिनौं लाग्छ, व्यवसायी श्रेष्ठले भन्नुभयो, ‘व्यवसायीले आफ्नो सामान अन्यत्रैबाट ढुवानी गर्न थालेका छन्। तातोपानी नाकाले २०७२ सालको विनासकारी भूकम्पपछि विश्वास गुमाइरहेको  छ ।

व्यवसायिका अनुसार भूकम्पको समयमा केरुङ नाकाबाट केही ट्यांकर तेलसमेत आयो। भारतले नाकाबन्दी लगाए पनि चीनबाट सबै सामान भित्रन्छ भन्ने प्रतिकात्मक सन्देश दिएका चिनियाँ अधिकार त्यसपछि द्विपक्षीय व्यापारको प्रश्नमा संधै अनुदार छन्।

कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको समयमा विश्वका अधिकांश मुलुकमा नियमित सामान निर्यात गरेको चीनले नेपालतर्फको नाका भने धेरै पटक एकपक्षीय रूपमा बन्द गरेको छ। व्यवसायीले चीनले लोड भइसकेका सामान ल्याउन अवरोध पुर्याएर निरन्तर नेपालमाथि अघोषित नाकाबन्दी गरेको भन्दै सरकारलाई धेरै पटक गुहारेका छन्। यो बीचमा चीनबाट भएको उच्चस्तरीय भ्रमणमा तातोपानी र केरुङ नाकाको अवरोध हटाएर आयात निर्यात सहज बनाउनुपर्ने विषय उठेको पनि छ। तर, उच्चस्तरीय भ्रमणपछि पनि चीनले नेपाली व्यवसायीको कन्टेनर नेपाल पठाउने प्रक्रिया सहज बनाएको छैन ।

तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले व्यवसायीको साथमा गएर प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पटकपटक भेटेको नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले बताउनुभयो। अहिले मुलुकमा डलरको सञ्चिती घटेको छ। अत्यावाश्यक लत्ता कपडा आयात गर्न नेपाली व्यवसायीले करोडौं डलरको एलसी खोलेर सामान मगाएका छन्। तर, सामान आउन महिनौं लाग्छ। यसले मुलुकको अर्थतन्त्रमासमेत नराम्रो असर परिरहेको छ। नेता बस्नेतले भन्नुभयो अहिले तातोपानी भन्सार क्षेत्रमा रसायनिक मलसम्म रोकिएका छन्, यता नेपालमा किसानले मल नपाएर बिजोग छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद एमाले नेता शेरबहादुर तामाङ, तातोपानी नाका सुचारु गर्ने र सीमा क्षेत्रको समस्या समाधान गर्ने बिषयमा तत्कालीन केपी ओली नेतृत्वको सरकारको पाला बाटै पहल भएको तर समस्या अहिले पनि नसुल्झिएको बताउनुहुन्छ। तातोपानी नाका उद्घाटनका बेला, चीनका वाणिज्य उपमन्त्री झाङ जिङचेनले अब नेपाल चीन व्यापार वाणिज्यका क्षेत्रमा कुनै समस्या नरहने बताएका थिए। तर, व्यवहारमा देखिएको समस्यम हट्न, परराष्ट्रमन्त्री वाङ यी नेपाल आउंदा पनि यो विषय उठेको हो।

व्यवसायीका अनुसार, रसुवाको केरुङ नाकामा पनि उस्तै समस्या छ। पहिले दैनिक सात वटा कन्टेनरमा (सामान) भित्रन्थ्यो। अहिले मुस्किलले १४ वटा कन्टेनरसम्म आएको रेकर्ड छ। तर, रसुवा भन्सार कार्यालयका अनुसार औसतमा सात वटा कन्टेनर पनि नेपाल आउन सकेको छैन, भन्सार पारी चीनतर्फ नै समस्या छ। यसको असर मुलुकको अर्थतन्त्रमा परेको छ। चालु आर्थिक वर्षमा केरुङ नाका भएर चीनबाट ४ सय भन्दा बढी विद्युतीय सवारी साधन र महंगा विद्युतगृह तथा विमानस्थल सम्बन्धी उपकरण भित्रिएकाले ६ अर्ब ६१ करोड रुपियाँ भन्दा बढी राजस्व असुली भएको देखिन्छ। चालु आर्थिक वर्षको समीक्षा अवधिमा, तातोपानी भन्सार कार्यालयले दुई अर्ब ८३ करोड रुपियाँ राजस्व असुली गरेको छ।

दुबै नाकाले भन्सार विभागले तोकेको लक्ष अनुसार राजश्व संकलन गरेपनि, व्यवसायी चीनबाट फलफूल, औषधि तथा अत्यावश्यक सामग्री बोकेका गाडीले पहिले प्राथमिकता पाउने हुँदा वस्तु आयातका लागि तातोपानी र केरुङ छाडेर धेरै व्यवसायी बन्दरगाहतर्फ गइसकेको बताउंछन्।

चीनबाट नेपाल भित्रने धेरै फलफूल तिब्बतका विभिन्न सहरबाट लोड हुन्छ। स्याउ, नास्पाती र ओखर तिब्बती बजारबाटै आउने भएकाले बन्दरगाहसम्म लैजान समय लाग्छ, त्यसैले कुहिने सम्भावना भएका यस्ता वस्तु ढुवानी गर्ने कन्टेनरलाई कोटा प्रणालीमा राख्दा पनि समस्या परेको छ। हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, फलफूल जस्ता छिट्टै कुहिने सामान बोकेको कन्टेनर छाड्न थप प्राथमिकता दिन र दैनिक कोटा नतोक्न व्यवसायीले पटकपटक आग्रह गरेको बताउनुहुन्छ। तर, व्यवसायीको आग्रह कसैले सुनेको छैन।

कोटा प्रणाली कै कारण नेपाली व्यवसायीले महिनौं अगाडि एलसी खोलेर लोड गरेको सामान अहिले पनि ग्वान्जाउमा अलपत्र छन्।जाडोका लागि मगाएको कपडा गर्मीमा र गर्मीका लागि मगाएको कपडा जाडोमा आइपुग्छ। समयमै कन्टेनर नछाड्दा ढुवानी खर्च बढेको छ र यसको असर तयारी कपडा र विद्युतीय सामानको स्थानीय मूल्यमा परिरहेको छ।

व्यवसायीका अनुसार, सिल्क ट्रान्सपोर्ट, नमस्ते ग्लोबल लजिष्टिक र रिवान्जे ट्रान्सपोर्टले चीनबाट सामान आयात गर्ने गरेका छन्। चीनमा गाडी रोकिंदा दैनिक २ हजार आर.एम.बी अतिरिक्त शुल्क तिर्नुपर्छ। यसको असर पनि मुलुककै अर्थतन्त्रमा जोडिन्छ।

नमस्ते ट्रान्सपोर्टका संचालक दानर्बु शेर्पा चीनमा गएर समयमै सामान लोड नगर्दा दैनिक झण्डै ४० हजार रुपैयाँ हर्जना तिर्नुपर्ने भएपछि नेपाली व्यवसायीको माग अनुसार मात्रै सीमित गाडी सामान लिन जाने गरेको बताउंछन्। २०७२ सालपछि तातोपानी नाकामा एकलौटी सामान आयात गरिरहेको सिल्क ट्रान्सपोर्टले नेपाली बजारमा रसायनिक मल ल्याउने ढुवानी जिम्मा पाएको छ तर सम्झौता अनुसारको मलसमेत ल्याउन सकेको छैन। यसमा पनि चिनियाँ पक्षले अवरोध गरिरहेको छ।

रेलमार्ग हुँदै सामान बोकेका कन्टेनर एक दिन मै चीनको सिगात्से आइपुग्ने र त्यहाँबाट केरुङ नाका नजिक पर्ने हुँदा २०७३ सालपछि नेपाली व्यापारी त्यसतर्फ जोडिएका थिए। तर, अहिले न यता न उताको अवस्थामा धेरै व्यापारी पानी जहाजबाट सामान ढुवानी गरेर वीरगञ्ज नाका हुँदै महंगो मूल्य चुकाएर व्यापार गरिरहेका छन्। नेपालका लागि एलसी खोलिएका र लोड भएका सामान धेरै नेपाली बजारमा आउनै छाडेको छ।

सामान बोकेका सयौं कन्टेनर आउने तातोपानी नाकाबाट अहिले मुस्किलले १० वटा कन्टेनर मात्रै नेपाल भित्रिरहेको छ। नेपालबाट चीन निर्यात हुने, जडीबुटी, हस्तकलाका र खाद्य सामग्रीसमेत नियमित निर्यात भएको छैन। निर्यात प्रभावित हुने र आयातका लागि विदेश पुगेपछि डलर अनुसारको सामान समयमै आयात नहुँदा व्यापार घाटा बढेको छ र विदेशी मुद्रा सञ्चितिमा चाप परेको छ। व्यापारी त्यही सामानका लागि समुद्रीमार्ग पुग्न थालेपछि व्यावसायिक लागत बढेको मात्र छैन, दुई मुलुक बीचको दशकौं पुरानो व्यापारिक सम्बन्धमा असर परेको छ।

उत्तरको नाकाले विश्वास गुमाउँदै
नेपाल हिमाल सिमापार वाणिज्य संघका अनुसार चिनियाँ अधिकारीले नेपालसँगको सीमा नाकामा निगरानी बढाएर व्यापार प्रभावित बनाउन थालेपछि धेरै व्यापारी भारतको कलकत्ता बन्दरगाह पुग्न थालेका छन्। सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका दुबै समस्याग्रस्त छ, सरकारले चीनसँग निर्णायक पहल नगर्ने हो भने तातोपानी र रसुवागढी नाका बन्द गरिदिए हुन्छ, व्यवसायीले जति लागत पर्छ सोही अनुसारको मूल्य राखेर सामान आयात गर्नेछन्, भारतको कोलकत्ता हुँदै सामान भित्रने छ। लार्चामा खुलेको सुक्खा बन्दरगाह पनि बन्द गरेहुन्छ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान महासचिव यादव दाहालले भन्नुभयो, सरकारले नाकाको बारेमा उचित पहल नगर्दा अर्थतन्त्रमा समस्या परिरहेको छ।

चीनतर्फका दुबै नाका सञ्चालनमा नआउदा नेपाली व्यवसायीले महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गरिरहेका छन्। चालु आर्थिक वर्षको समीक्षा अवधिमा चीनबाट २.२६ खर्ब रुपैयाँ भन्दा बढी रकम बराबरको सामान आयात भएको छ। यो सबै तातोपानी र केरुङ नाका भएर आएको भए राजश्व असुली बढ्ने थियो। कुन सामानको मुस्किलले २० प्रतिशत हिस्सा मात्र स्थाल मार्गबाट आएको छ। बाँकी विभिन्न चिनियाँ सहरबाट आयत हुने सामान समुद्री मार्ग हुँदै भारत पुगेर नेपाल भित्रिएको छ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले २० दिनमा तातोपानी र रसुवाबाट नेपाल आइपुग्ने सामान ६० दिन लगाएर भारत हुँदै आयात गर्नुपर्दा लागत बढेको छ, व्यापारीले मात्र गुमाएका छैनन्, बजारमा सामग्रीको मूल्य बढेको छ। कोलकताको बाटो प्रयोग गर्दा प्रति कन्टेनर २५ सय डलर अतिरिक्त रकम बाहिरिई रहेको छ।

Facebook Comments Box