एमाले फेरि फुटको नजिक, घनश्यामसहित ३० भन्दा बढी केन्द्रीय सदस्य विद्रोहगर्ने
काठमाडौं, २३ जेठ । घनश्याम भुसालमाथि नेकपा एमालेको अनुशासन आयोगले कारबाहीका लागि बढाएको प्रक्रियाको कारण थियो अध्यक्ष केपी शर्मा ओलीमाथि आइपर्ने ठूलो संकट । स्थानीय तहको चुनावमा एमालेले धक्का खाएपनि भुसालले दुई वटा विकल्पसहित प्रस्ताव सार्न लागेका थिए । उनले ओलीले या त आत्मालोचनासहित बाम एकताको आव्हान गर्नुपर्ने या त राजीनामा दिनुपर्ने प्रस्ताव भुसालले तयार गरिसकेका थिए ।
एमाले बैठकमा भुसालले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको सूचना पाएपछि ओलीले केशव बडाललाई लगाएर अनुशासनको कारबाही अगाडि बढाउन लगाए । भुसाललाई सम्भवत एमालेबाट निष्काशन हुन सक्छ । उनले पनि त्यसको सामना गर्न पूर्वतयारी गरिसकेको बुझिएको छ ।
भुसालको साथमा एमालेका ३० भन्दा बढी केन्द्रीय सदस्य रहेको विश्वस्त स्रोतले बताएको छ । योगेश भट्टराईले पनि साथ दिएमा त्यो संख्या ५० को हाराहारीमा पुग्न सक्छ । योगेशले साथ दिने या नदिने स्पष्ट छैन । तर, भुसाल अगाडि बढिसकेका छन् ।
कुनैपनि बेला कारबाहीको निर्णय भएमा भुसाल विद्रोह गर्ने तयारीमा छन् । उनले आफ्नो साथमा रहेका केन्द्रीय सदस्यहरुसहित एमाले छाड्ने सम्भावना बलियो भएको छ ।
यसैगरी, विगतमा माधवकुमार नेपालसँग नजिक रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, रघु पन्तलगायत नेताहरु पनि ओलीको पेलाईमा पर्दै गएका छन् । उनीहरु पनि ओलीलाई बाम एकताका लागि दबाब दिइरहेका छन् । तर, ओली टसमस भएका छैनन् ।
ओली, प्रचण्ड र माधवकुमार नेपाललाई मिलाउने दबाब सृजनामा बामदेव गौतम भित्र भित्र लागेका छन् । तर, यो सजिलो देखिएको छैन । ओली लचिलो नभए संसदको चुनावसम्म प्रचण्ड र माधवकुमार नेपालसहितको ओलीबाहेकको वाम शक्ति एक बनाउने गरी गौतम लागेका छन् । उनीनिकट रहेकाहरु पनि त्यही रणनीति अनुसार सक्रिय छन् ।
……..
केही नेताकाे पेट दुख्यो भने भारतलाई नै दोष दिन्छन्, विमानस्थलबारे मित्रराष्ट्रप्रति औंला ठड्याउनु लज्जास्पद होः लालबाबु राउत
काठमाडौं, २३ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत सर्वोच्च अदालत जनचाहनाविपरीत जान नसक्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, “निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सम्मानित सर्वोच्च अदालतको पूर्ण फैसला आएको छैन । यो नेपालका साथै मधेस प्रदेशको पनि गौरवको विकास आयोजना हो । यसबाट प्रदेशले नै कोल्टे फेर्न सक्छ । काठमाडौंमात्र नभएर विभिन्न देशसँगको कनेक्टिभिटीका लागि सहयोगी हुन्छ । सम्मानित सर्वोच्च अदालत जनचाहनाविपरीत जान सक्दैन ।”
मुख्यमन्त्री राउतले भारतीय चाहनामा निजगढ विमानस्थल निर्माण रोकिएको भन्नु लज्जास्पद हुने बताए । उनले भने, “यहाँका कुनै कुनै नेता पेट दुख्यो भने पनि भारतलाई दोष दिन्छन् । जेमा पनि भारतलाई किन मुछ्ने ? निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको के कन्सर्न छ र ? आफ्नो संवैधानिक संयन्त्र र सम्मानित अदालतलाई भरोसा नगरी मित्रराष्ट्रप्रति औंला ठड्याउनु लज्जास्पद कुरा हो ।”
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई जोड दिए पनि किसानलाई समयमै रासायनिक मल दिन सक्नुभएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा राउतले भने, “पक्कै पनि मधेस प्रदेशको समृद्धिको प्रमुख आधार नै कृषि हो । कृषि बिमाको प्रयत्न भएको छ । कृषिमै युवालाई रोजगारी दिने कार्यक्रम छन् । अर्गानिक मल कारखाना खोल्न सहयोग गर्ने भनेका छौं । हाम्रा तर्फबाट गर्न सकिनेसम्मका कुरा गरिरहेकै छौं । तर रासायनिक मल संघीय सरकारले टेन्डर गरेर मगाइरहेको छ । कुन समयमा कुन कुन ठाउँमा कति मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । तर पनि खरिद गर्दा अपुग हुने, समयमै नआउने समस्या छ । त्यसलाई चाँडोभन्दा चाँडो समाधान गरिनुपर्छ ।”
नीति र कार्यक्रम त ल्याउनुभयो तर जनताले के पाए भन्ने अर्को प्रश्नमा उनले भने, “जनआकांक्षा धेरै छ, बजेट थोरै छ । आमूल परिवर्तन हुन नसके पनि जति सकिएको छ, त्यति गरिएको छ । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा साढे चार वर्षभित्र थुप्रै काम भएका छन् । भित्री सडकका कारण कनेक्टिभिटी बढेको छ । छोरीहरुलाई विद्यालय जान प्रोत्साहन गरिएको छ । मधेस प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउन प्राविधिक शिक्षा परिषद् बनाउँदै छौं । प्रदेशभरिका विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिएका छौं । प्रदेशमा एक हजार प्रहरी भर्ना गरेर रोजगारी दिने नीति लिएका छौं । समग्रमा हामी पूर्वाधार खडा गर्न सफल छौं ।”
