भारतीय अनुदान सहयोगमा विद्यालय भवन

सेयर गर्नुहोस

भारत सरकारको अनुदान सहयोगमा पोखरा महानगरपालिका– १३ ढाँडबेँसीस्थित श्री आर्वा विजय माध्यमिक विद्यालय भवन उद्घाटन भएको छ । भारतीय कार्यबाहक राजदूत नामग्य सी खम्पाले ढाँडबेँसी पुगेर मंगलबार नवनिर्मित भवन उद्घाटन गरेकी हुन् ।

कास्की जिल्लाको यो पुरानो विद्यालय भवन ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवं उच्च प्रभाव सामुदायिक विकास परियोजनाअनुरूप निर्माण भएको भारतीय राजदूतावासले जनाएको छ । भारत सरकारको तीन करोड ६३ लाख रुपैयाँ अनुदान सहयोगमा विद्यालय भवन निर्माण भएको हो ।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका ‘अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो ।

भारतीय राजदूतावासका अनुसार सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । ‘स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा चार सय ७० वटा परियोजना सम्पन्न भइसकेका छन्,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तीमध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ परियोजना छन् ।’

Facebook Comments Box