तिब्बत हेर्ने अमेरिकी उपविदेशमन्त्री नेपालमा

सेयर गर्नुहोस

 

१२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसद्बाट एमसिसी अनुमोदन भएसँगै अमेरिकी प्रतिनिधिको नेपाल भ्रमण बाक्लिएको छ । अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जिया शुक्रबार नेपाल भ्रमणमा आउँदै छिन् । १५ चैतमा संसद्बाट एमसिसी अनुमोदनपछि अमेरिकाबाट भएको यो तेस्रो भ्रमण हो ।

अमेरिकी प्रशासनको तिब्बती मामिला हेर्ने संयोजकसमेत रहेकी जिया भारतस्थित तिब्बती निर्वासित सरकार र धर्मगुरु दलाई लामासँग भेटेर नेपाल आउन लागेकी हुन् । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षका अवसरमा उनी आउन लागेकी हुन् ।

उपविदेशमन्त्री जियाभन्दा अगाडि यसै वर्ष दुई अमेरिकी प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेका छन् । डेमोक्रेटिक पार्टीकी सिनेटर (सांसद) क्रिस्टेन गिलिब्रान्ड नेतृत्वमा ६ सदस्यीय टोलीले ९ देखि ११ वैशाखमा, ६ देखि ८ वैशाखमा दक्षिण तथा मध्यएसियाली मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले भ्रमण गरेकी थिइन् ।

अमेरिकी विदेश मन्त्रालयले उपविदेशमन्त्री जियाको भ्रमण मानव अधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोग अझ गहिरो बनाउन र मानवीय प्राथमिकता अगाडि बढाउन भ्रमण हुन लागेको जियाले नेपाल भ्रमणपूर्व वासिङ्टनडिसीमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग भ्रमणका एजेन्डाबारे छलफल गरेकी छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण, प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनीसँग युएसएआइडीका एसिया हेर्ने उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनेछिन् ।

त्यसैबीच दलाई लामासँग भेट गरेर अमेरिकी उपविदेशमन्त्री जिया नेपाल भ्रमणमा आउन लागेकोमा चिनियाँ पक्षले गहिरो चासो व्यक्त गरेको छ । अमेरिकी उपविदेशमन्त्रीको पछिल्लो नेपाल भ्रमणलाई सतर्कतापूर्वक हेरेकी चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेकी छिन् ।

गृहमन्त्रीको सचिवालयले चिनियाँ राजदूतले अमेरिकी उपविदेशमन्त्रीको भ्रमणबारे चासो राखेको विषयमा अनभिज्ञता जनाएको छ । तर, सरकारी एक स्रोतले एमसिसी अनुमोदनमा र त्यसपछि बढ्दो अमेरिकी प्रभावलाई लिएर चिनियाँ पक्षले गम्भीर चासो राख्दै आएको छ । एमसिसी मुद्दामा पनि चीन र अमेरिकाबीच वक्तव्यबाजी भएको थियो ।

राजदूत होउले चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा राम्रो सुरक्षा–प्रबन्ध गरेको भन्दै गृहमन्त्रीमार्फत सुरक्षा निकायलाई धन्यवाद दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । ‘चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको वेलामा सुरक्षा–प्रबन्ध राम्रो गरेकोमा गृहमन्त्रीमार्फत सुरक्षा निकायलाई राजदूत यान्छीले धन्यवाद दिनुभयो,’ गृहमन्त्रीको सचिवालयले भनेको छ ।

यान्छीले चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको गृहमन्त्री खाणलाई जानकारी दिएकी छिन् । आफ्ना जनप्रतिनिधि जनताले आफैँ छान्ने प्रक्रिया राम्रो भएको भन्दै चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री देउवालाई बधाई पठाएको राजदूत यान्छीको भनाइ थियो । यान्छी आफैँ पनि निर्वाचनका दिन आफू अवलोकनका लागि जाँदा जनता उत्साहका साथ सहभागी भएकोमा खुसी लागेको पनि गृहमन्त्रीलाई बताएकी थिइन् ।

पूर्वराजदूतहरूको सुझाव : चीन र अमेरिकासँग सन्तुलन गरौँ
अमेरिका र चीन मामिलाविज्ञ रहेका पूर्वराजदूतहरूले नेपालमा अमेरिका र चीनसँग नेपालको हितलाई केन्द्रमा राखेर सम्बन्ध सञ्चालन गर्नुपर्ने सुझाब दिएका छन् । अमेरिकाका लागि पूर्वनेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले अमेरिकाको भारत वा चीनसँगको सम्बन्धमा नेपाल प्रवेश गर्नु नहुने र दुवै मुलुकसँग आफ्नो हितमा सम्बन्ध सञ्चालन गर्नुपर्ने बताए ।
‘चीनसँग सम्बन्ध सन्तुलनमा राख्ने, अमेरिकासँग सम्बन्ध राम्रो बनाउने र भारतसँगको निकटता थप बढाउने अवसर नेपालसँग छ,’ चालिसेले नयाँ पत्रिकसँग भने, ‘अमेरिका, भारत वा चीनसँग उनीहरूका आपसी मामिलामा नफसी नेपालले सबैसँग सम्बन्ध राम्रो बनाउनुपर्छ । छिमेकी चीनको अहित नहुने गरी नेपालले अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउनुपर्छ ।’

तिब्बतको मामिलामा अमेरिकाको चासो पुरानै रहेको र यसले नेपालको विदेश नीतिमा चुनौती पनि पहिलेदेखि नै रहँदै आएको उनको भनाइ छ । ‘यो चुनौती आज मात्र होइन, भविष्यमा पनि रहन्छ । हाम्रा छिमेकीहरूको अहित नहुने गरी द्विपक्षीय सम्बन्धमा जोड दिनुपर्छ,’ चालिसेको भनाइ छ, ‘नेपाल उनीहरूका मामिलाहरूमा संलग्न छैन र हुनुहुँदैन ।’

चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यले नेपालमा माओवादी गतिविधिसँगै अमेरिकी चासो बढेको र चिनियाँ सतर्कता थपिएको टिप्पणी गरे । उनले कसैको अहित नहुने गरी नेपालले भारत, चीन र अमेरिकासँग सम्बन्ध सञ्चालन गर्नुपर्ने र आफ्नो हितलाई केन्द्रमा राख्न सुझाव दिए ।

नेपाली संयन्त्रहरूको कमजोरीका कारण अहिले चीन सशंकित छ, अरू देश पनि ढुक्क हुन सकेका छैनन् । यसलाई नेपालले गुणस्तरीय परराष्ट्र संयन्त्र, गुणस्तरीय कूटनीतिज्ञ र उनीहरूलाई पृष्ठपोषण गर्ने विज्ञहरूको संयन्त्रमार्फत सम्बोधन गर्न सक्छ,’ आचार्यले भने, ‘नेपालले भारत र चीनका चासोलाई सम्बोधन गर्नैपर्छ । अमेरिकासँग सम्बन्ध पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण छ ।’

उनले चीनको तिब्बतको सुरक्षामा नेपालबाट हुन सक्ने सम्भावित खतराप्रति चीन सधैँ सतर्क रहँदै आएको बताए । ‘भारतसँग चीनको धेरै चिन्ता देखिँदैन, जति चिन्ता अमेरिका वा अरू पश्चिमा मुलुकहरूबाट उसलाई छ,’ आचार्यको अनुभव छ, ‘साउथ चाइना सी, इन्डो–प्यासिफिक क्षेत्रमा विस्तार भएको अमेरिकी प्रभाव र नेपालमा एमसिसी पारित भएपछिको अवस्थामा चीनको चासो र चिन्ता थपिनु स्वाभाविकै हो । नेपालले उसको चिन्तालाई सम्बोधन गर्दै आफ्नो हितमा सबैसँग सम्बन्ध सञ्चालन गर्नुपर्छ ।’

Facebook Comments Box