भारतबाट बिद्धुत किन्ने निर्णय
काठमाडौं। औद्योगिक क्षेत्रको लोडसेडिङले चर्को आलोचना खेपेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट महँगो मूल्यमा बिजुली किन्ने निर्णय गरेको छ। प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले डेढ सय मेगावाट बिजुली महँगोमै किनेर ल्याउन स्वीकृति दिएको हो।
उर्जामन्त्री पम्फा भुसालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउन महँगोमा भएपनि बिजुली किन्नुपर्ने जानकारी गराएकी थिईन्। त्यसपछि सोमबार विहान प्राधिकरणको बोर्ड बैठक बसेको हो।
एक महिना भन्दा बढी प्राधिकरणले आफ्नो ब्यालेन्ससीट बिग्रिने भन्दै भारतबाट बिजुली नकिन्दा उद्योगहरुमा १८ घण्टा सम्म लोडसेडिङ छ। बिजुली आपूर्ति नियमित गराइदिन उद्योगीहरुले प्राधिकरणलाई आग्रह गर्दै आएका छन्।
चुनावको मुखमा विरोध हुने भन्दै प्राधिकरण नेतृत्वले ग्राहर्स्थलाई नचलाएर ओद्योगिक लोड कटौती गरेको छ। १२ रुपैयाँ भारु भन्दा बढीमा किन्ने निर्णय भएको बोर्डका एक सदस्यको भनाई छ। उनका अनुसार आवश्यकता अनुसार भारतबाट महँगो भएपनि विद्युत किनेर व्यवस्थापन गर्ने जिम्मेवारी दिएको बताए।
‘एक्सचेन्ज मार्केटमा १२ रुपैयाँ भारुको अधिकतम क्याप छ। यदि निजी क्षेत्रबाट त्यो भन्दा महँगो किन्न पाइन्छ भने ल्याएर अहिलेको समस्या टार्ने भन्ने हो। त्यसका लागि यति नै भन्ने छैन। २० रुपैयाँ पनि पर्न सक्छ,’ ती संचालकले बिजमाण्डूसँग भने।
भारतमै अहिले ऊर्जा संकट छ। १२ वटा भन्दा बढी राज्यमा लोडसेडिङ गरिएको छ। जसका कारण भारतले द्धिपक्षीय सम्झौता अनुसारको विद्युत दिएको छैन। प्राधिकरणका लागि अन्तिम विकल्पका रुपमा रहेको प्रतिस्पर्धी बजारबाट सप्लायरहरु नहुँदा खरिद गर्न समेत पाएको छैन।भारतमा कोइलाबाट चल्ने थर्मल प्लान्टबाट उत्पादन हुने विद्युतको हिस्सा ठुलो छ। रुस-युक्रेन युद्धका कारण भारतमा कोइलाको मुल्य चार गुणासम्म बढेको छ। भने कोइलाको अभाव छ। जसका कारण थर्मल प्लान्टहरु बन्द हुन थालेका छन्।
थर्मल प्लान्टको विद्युत कटौती हुन थालेका कारण भारतमै लोडसेडिङ गरिएको छ। थर्मल प्लान्टहरुसँग सिधै उद्योगहरुले किन्न थालेका कारण सप्लायरहरु प्रतिस्पर्धी बजारमा नहुँदा नेपालले विद्युत पाउन छाडेको हो। नेपालले प्रतिस्पर्धी बजारमा ५ सय मेगावाटसम्म बिड गर्न पाउँछ। अधिकतम र न्युनतम मुल्य १२ रुपैयाँ भारु पुगेको छ।
सरकारले नै १२ रुपैयाँ भारुको अधिकतम क्याप तोकिएका कारण सबैले १२ रुपैया बिड गर्छन्। मागको तुलनामा धेरै कम मात्र सप्लाइ हुने गरेको छ। सोही कारण बिड गर्ने सबैलाइ समानान्तर हिसाबले वितरण हुन्छ। त्यसो हुँदा नेपालले दैनिक सत्तरी देखि सय मेगावाटसम्म मात्रै पाउने गरेको छ। जसका कारण उद्योगमा लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक अवस्था आएको हो।
करिव १ महिना अझै समस्या हुने अनुमान छ। नेपालको जडित क्षमता २२ सय मेगावाट पुगेको छ। अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (आरओर) प्रकृतिका छन्। जसका कारण हिउँदमा ३२ देखि ४० प्रतिशत मात्रै उत्पादन हुने गरेको छ। जसका कारण हिउँदको माग पुरा गर्न ३० प्रतिशतभन्दा बढी विद्युत आयात गर्नुपर्ने अवस्था छ।
