मधेसलाई अवसर बन्दै दरभंगा विमानस्थल
वैशाख ११ ।
नेपाल सँग सीमा जोडिएको भारतीय राज्य बिहारको दरभंगास्थित विमानस्थलका कारण नेपालको मधेस प्रदेशवासीले पनि लाभ उठाउन पाउने भएका छन ।
विमानस्थल सञ्चालन मा आएसँगै मधेसका कतिपय जिल्लाका स्थानीय केही घण्टामै मुम्बई, दिल्लीलगायत भारतीय सहर पुग्न सक्ने भएका हुन । उक्त विमानस्थल प्रदेश राजधानी जनकपुरबाट ८० किलोमिटरको दूरीमा छ ।
दरभंगामा विकसित ‘एयर कनेक्टिभिटी’ ले सिंगो प्राचीन मिथिला (नेपाल र भारत दुवै क्षेत्रका) लाई आधुनिकता र वैभवताले सम्पन्न सहरसँग जोडेको हो । दरभंगाबाट अहिले डेढदेखि अढाई घण्टाभित्रै दिल्ली, मुम्बई, कोलकाता, बैंग्लोर र हैदराबाद पुग्न सकिने भएको छ । सर्वसाधारणका लागि उक्त विमानस्थल सञ्चालनमा आएको डेढ वर्ष पुग्दै छ । यस अवधिमा ७ लाख बढीले आउजाउ गरेको तथ्यांक छ । तीमध्ये नेपालीको संख्या पनि उल्लेख्य रहेको विमानस्थल स्रोतले जनाएको छ ।
जनकपुरबाहेक मधेस प्रदेशका सीमावर्ती सहर मलंगवा, जलेश्वर, माडर र राजविराजको पनि दरभंगासँग निकटता छ । पूर्वमा सुनसरी, मोरङ, झापादेखि पहाडी जिल्लाका बासिन्दालाई पश्चिम बंगालको बागडोग्रा विमानस्थलले भारतका विभिन्न सहरसँग जोडेको छ । त्यस्तै, पश्चिममा गोरखपुर र लखनउ विमानस्थलले त्यस क्षेत्रका नेपालीलाई हवाई यात्रामा सहज बनाएको छ । मध्यतराई र नजिकैका पहाडी जिल्लाका लागि दरभंगा विमानस्थलले गोरखपुर र बागडोगरा विमानस्थल जत्तिकै सम्भावना दिएको छ ।
भारतीय पर्यटकलाई जनकपुर भित्र्याउन पनि विमानस्थलले ठूलो भूमिका खेल्ने छ । दक्षिण भारतका प्रमुख सहर हैदराबाद र बैंग्लोरमा दरभंगाबाट दैनिक उडान छ । नेपालमा पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धार्मिक पर्यटकमा दक्षिणी भारतीयको संख्या उल्लेख्य छ । तर उनीहरू जनकपुर भने पुग्दैनन ।
दक्षिण भारतका धार्मिक पर्यटक तान्न सके जनकपुरले लाभ उठाउन सक्छ । हाल भारतका विभिन्न सहरमा स्वास्थ्य उपचार, अध्ययन र काम विशेषले जाने मध्य तराईवासीले दरभंगा रुटको प्रयोग गर्न थालिसकेका छन । पटना विमानस्थलको तुलनामा छोटो र सहज भएकाले सीमा क्षेत्रका नेपालीलाई सहजता मिलेको हो ।
हवाई यात्राबाट दरभंगा हुँदै केही घण्टामै जनकपुर पुग्न सकिनेबारे भारतीय पर्यटकलाई जानकारी दिन सके धार्मिक पर्यटक तान्न सकिने छ ।
भारतीय हवाई सेनाको अधीनमा रहेको दरभंगा विमानस्थललाई सन् २०२० को नोभेम्बर ८ देखि नागरिक उड्डयनका लागि प्रयोगमा ल्याइएको हो । विमानस्थलमा ९ हजार फिट लामो रनवे भएकाले ठूला विमान उड्न र अवतरण गर्न सहज हुन्छ । हाल दरभंगाबाट दिल्ली, मुम्बई र बैंग्लोरमा दैनिक २÷२ उडान हुन्छन । कोलकाता र हैदराबादका लागि १÷१ उडान छन । ‘रिजनल कनेक्टिभिटी’ योजनाअन्तर्गत भारत सरकारले देशका विभिन्न ९ सय हवाई रुट स्वीकृत गरिसकेको छ । ३ सय ५० स्थानमा हवाई सेवा सुरु भइसकेको छ । त्यसैअन्तर्गत दरभंगामा उडान सुरु भएको हो । विमानस्थलमा नयाँ आधुनिक टर्मिनल भवन निर्माणका लागि बिहार सरकारले बजेटसमेत छुट्याइसकेको छ ।
