कम्युनिस्टको चरित्र विर्सिएर चुनावी तालमेल गर्नु उचित छैन : गगन थापा

सेयर गर्नुहोस

 

काठमाडौं।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिस्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन्। बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले नेपालको राजनीतिमा कम्युनिस्टहरुको द्वैध चरित्र बारम्बार देखिएकोले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताए।

महामन्त्री थापाले कांग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली कांग्रेस कम्युनिस्टसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताए। उनले यदी सबै क्षेत्रमा कांग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिस्ट पार्टीहरुले तर्साउने बताए।

महामन्त्री थापाले कुनैपनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भनेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रीय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्यो भन्दा तलका तहलाई अधिकार दिएको बताए। ढिलोचाँडो नेपालका कम्युनिस्ट एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिस्टहरु एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने काँग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताए।

Facebook Comments Box