प्रचण्ड र म एकै दिन ‘हाेल–टाइमर’ भएर हिँडेका हाैँ : नारायण दाहाल

काठमाण्डाै – राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू एकै दिन पार्टीमा पूर्णकालीन भएर हिँडेको बताउनुभयो । आफू निरन्तर पार्टीका काममा रहेको उल्लेख गर्दै उहाँले आफ्नो विरोध हुने गरेका कारण आफूले पार्टीबाट धेरै अवसर गुमाउनुपरेको गुनासाे गर्नुभयाे ।
आज मङ्गलवार राष्ट्रिय सभाको सदस्यका रूपमा शपथ ग्रहण गरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयो, ‘मेरो हैसियतको कुरा गर्दा अध्यक्ष र म एकैदिन होल–टाइमर भएर हिँडेको हाे । म निरन्तर पार्टीमा छु । निरन्तर काम गरेको छु । मेरो त दाबी के हो भने यस्तै बाहिरका कुराहरूले गर्दा मैले पाउनुपर्ने जति अवसर मैले गुमाउनुपरेको छ ।’
राष्ट्रिय सभा सदस्य दाहालले नेपाली नागरिककाे भावना र चाहनालाई सम्बोधन गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बजेटको प्रक्रिया नजिकिन लागेको उल्लेख गर्दै बजेटलाई देशको समृद्धिको पक्षमा लगाउन लाग्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मुख्यतः सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा अपूरा रहेका कामहरूलाई संस्थागत गर्ने विषयहरूलाई अलि गम्भीरताका साथ हेर्ने कुरामा हाम्राे भूमिका रहन्छ । त्यसपछि राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र रहेर देशको राष्ट्रियता, जनताको स्वाधीनता, राष्ट्रिय अखण्डताका सन्दर्भमा काम गर्ने कुरा छँदैछ । पहिले अन्तरिम कालमा पनि मैले डेढ वर्ष काम गरेँ । संविधान सभामा पनि चार वर्ष काम गरेँ । धेरै नौलो त मलाई पक्कै हुँदैन होला ।’
राष्ट्रिय सभा सदस्य दाहालले अहिले पार्टी र जनप्रतिनिधिप्रति नागरिकमा वितृष्णा पैदा हुँदै गएकाले आफ्नो व्यवहारबाट ती धारणालाई बदल्ने पनि बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरूलाई निष्कर्षमा पुर्याउनुपर्ने महत्त्वपूर्ण काम रहेको पनि बताउनुभयो ।
दाहालले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रिय सभा सदस्यको रूपमा शपथ ग्रहण गर्नुभएको हो ।
