भोलि जे हुन्छ हुन्छ, अहिले चुनावी तयारीमा जुटौँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तोकिएको मिति (वैशाख ३०) मा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्।
०७४ साल असोज भएको स्थानीय तहको निर्वाचनका जनप्रतिनिधिहरूले कार्यकाल ५ वर्ष पूरा नभएको बताउँदै नेकपा एस दोलखा-काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘भोलि जे होला होला अहिले हामी चुनावी तयारीमा लागौँ। मान्छेहरुले के हुन्छ भन्छन् ,म भन्छु जे हुन्छ हुन्छ अहिले तयारीमा जुटौँ।’
अध्यक्ष नेपालले आफ्नो नयाँ पार्टी बनेको ६ महिनाभित्रै मान्छेको ओइरो नै लागेको दाबी गरे। चुनावको समय सुरु भइसकेकाले आयोगले आचारसंहिता लागू गरिसकेको समेत बताए।
अध्यक्ष नेपालले भने, ‘०७४ जेठको ५, असार र असोजमा चुनाव भएको थियो। असोजमा चुनाव भएकाको ५ वर्ष पुगेको छैन। त्यसबारे कानुनी त्रुटि छ। उनीहरूको संवैधानिक अधिकारको हनन भएको छ। असोज महिनामा चुनाव भएकाहरूकाे ५ वर्ष नपुगेकाले संविधानकाे भावनाविपरीत निर्णय गरेको छ भन्ने कुरा उठिरहेको छ।’
उनले आफ्नो पार्टीमा जनआकर्षण बढेकाले विरोधीहरूलाई पोल्न थालेको बताए। क्रान्तिकारी चेतको साथ क्रान्तिकारी पार्टी निर्माणको अभियानमा जुटेको बताए। एमालेमा ओलीको दास बन्न नसकेर एमालेकै निरन्तरतामा रूपमा नयाँ पार्टी बनाएर हिँडेको बताए।
अध्यक्ष नेपालले भने, ‘हेर्नुस् त। एमालेमा १० भाइको कस्तो बिजोग छ। तपाईंहरू बहिनी पनि छ भन्नुहोला। तर, अहिले दक्षिणपन्थी शक्तिविरुद्ध लागेर राजतन्त्रको पक्षमा लाग्नेसँग विद्रोह गरेर हिँडेका छौँ। अहिले हाम्रो आफ्नै पहिचान छ।’
जनताको न्यूनतम सुविधा छाडेर आवश्कता नभएको टावर बनाउने काम रोक्नुपर्ने बताए। ‘यस्ता लगानी रोकेर बरु बिना व्याज गरिबलाई लगानी गरेर आत्मनिर्भर बनाउनतिर लाग्नुपर्छ। यो अहिले गेट पनि बनाउन हटाउनुपर्छ। अघिल्लो सरकारको पानीजहाज कहाँ पुग्यो? हिन्द महासागरमै डुब्यो कि? यस्ता हावादारी काम रोक्नुपर्छ’ अध्यक्ष नेपालको भनाइ छ।
