केपी ओलीको अभिव्यक्तिप्रति मगर समुदायद्वारा विराेध

सेयर गर्नुहोस

केही दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देही आएर नेपालका प्रथम सहिद लखन थापाविरुद्ध दिएको अभिव्यक्तिले यहाँका मगर समुदाय आक्रोशित भएका छन् । मंगलबार नेपाल मगर संघ रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गरी ओलीले यही चैत १८ गते रुपन्देहीको एक कार्यक्रममा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको जनाएको हो ।

उक्त दिन आयोजित कार्यक्रममा ओलीले लखन थापा नेपालको प्रथम सहिद होइनन् भन्ने अभिव्यक्ति दिएका थिए । सो विरुद्ध नेपाल मगर संघ रुपन्देही जिल्ला समन्वय समितिका अध्यक्ष आनबहादुर सोती मगर र सचिव थर्क बाह्रघरे मगरले विज्ञप्ति प्रकाशित गरी एमाले अध्यक्ष ओलीको उक्त अभिव्यक्तिलाई ‘कुप्रचार’को संज्ञा दिएका छन् । सचिव मगरले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सारा सहिदको अपमान हुने गरी दिएको अभिव्यक्ति फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।

संघका अध्यक्ष सोती मगरले पनि मन्त्रिपरिषद्ले लखन थापालाई नेपालको प्रथम सहिद घोषणा गरेको र हुलाक टिकटसमेत निकालिसकेको अवस्थामा एमाले अध्यक्ष ओलीले कपोकल्पित र तथ्यहीन अभिव्यक्ति दिई सिङ्गो मगर समुदायको मात्र नभई आम नेपाली जनताको परिवर्तनको आन्दोलनलाई खिल्ली उडाउन खोजेको आरोप लगाएका छन् ।

नेपाल मगर संघकी सदस्य राधिका श्रीसले केपी ओलीले माफी माग्दै उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने जनाएकी छन् । संघका केन्द्रीय भाषिक उपाध्यक्ष दलबहादुर बिरकट्टाले ओलीका अभिव्यक्ति निराधार र विवादास्पद हुने गरेको भन्दै उपचारका लागि सुझाव दिए ।

Facebook Comments Box