किशोर थापा काठमाडौंको मेयरमा नउठ्ने

काठमाडौं- काठमाडौं महानगरमा स्वतन्त्र उम्मेद्वार उठ्नेहरुको लहड चहिरहँदा गत चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा १८ हजार ४९६ मत ल्याएर चर्चामा आएका पूर्व सचिव किशोर थापा मेयरमा नउठ्ने भएका छन् ।
पार्टीले उठाएको उम्मेद्वारलाई समर्थन गर्ने भन्दै उनले नयाँ पुस्तालाई मेयर उठाउनु पर्ने बताएका छन् । पाँच वषअघि आफूले इच्छा गरेर मेयर उठेको र पार्टीले पनि समर्थन गरेको भन्दै उनले अब पुराना पुस्ताले नयाँ पुस्ताका युवालाई अवसर दिनुपर्ने बताए ।
‘मैले केहि गर्छु भन्ने उमेरको बेला अघिल्लो चुनावमा उम्मेद्वार भएँ, अब नयाँ पुस्ता थुप्रै आइसकेका छन्,’ थापाले अनलाइनखबरसँग भने, ‘हाम्रो पार्टीले योग्य उम्मेद्वार उठाउँछ, उसैलाई म समर्थन गर्छु ।’
पार्टीले उठाएको वा स्वतन्त्र रुपमा उठेका योग्य र क्षमतावान उम्मेद्वारलाई समर्थन गर्नु नै नैतिकता रहेको उनले बताए । २०७४ मा स्वतन्त्र उम्मेद्वारी दिएका थापालाई रविन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीले समर्थन गरेको थियो । त्यो चुनावमा सुसस्ंकृत राजनीतिको वकालत गर्दै आएको विवेकशील नेपाली दलको तर्फबाट उठेकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत पाएकी थिइन् । आन्तरिक विवाद भएता पनि यी दुवै दल अहिले एक भएका छन् ।
तर थापा र दर्शना दुवैको मत जोड्दा पनि मेयरमा दोश्रो भएका नेपाली कांग्रेसका राजुराज जोशीको भन्दा कम हुन्छ ।२०७४ को चुनावमा काठमाडौंको मेयर चुनिएका नेकपा एमालेका विद्या सुन्दर शाक्यले ६४ हजार ९१३ मत पाएका थिए । दोश्रो भएका नेपाली कांग्रेसका जोशीले ४५ हजार २६९ मत पाएका थिए ।
अब मेयर नउठ्ने घोषण गरेका थापा विवेकशील साझा पार्टीमा केन्द्रीय समिति सदस्य छन् । पार्टीका एक नेताका अनुसार काठमाडौं महानगरको मेयरको टिकट दिने अधिकार पार्टी अध्यक्ष रविन्द्र मिश्र आफैैंले राखेका छन् ।
