स्थानीय तहका प्रतिनिधिले उम्मेदवारी दिन आफ्नो नामको बेरुजु र पेस्की फर्स्याेट गर्नुपर्ने

काठमाडौं ।
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन हालका जनप्रतिनिधिहरूले आफ्नो नाममा रहेको बेरुजु र पेस्की अनिवार्य रूपमा फर्स्याेट गर्नुपर्ने भएको छ। नेपाल राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहिता २०७८ ले स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन आफ्नो नाममा भएको पेस्की र बेरुजु अनिवार्य फर्स्याेट गर्नुपर्ने व्यवस्था गरेको हो।
‘उम्मेदवारले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट लिएको कुनै पनि प्रकारको पेस्की फर्स्याेट गरेको हुनुपर्नेछ,’ आचारसंहिताको दफा ४६ मा भनिएको छ। यसैगरी, आचारसंहिताको दफा ४७ मा भनिएको छ, ‘लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसाथ असुलउपर गर्ने भनी कायम भएको बेरुजु फर्स्याेट गरेको हुनुपर्नेछ।’
यसअघिका निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था नभएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। आचारसंहिताको दफा ३४ मा सूक्ष्म अनुगमनसम्बन्धी व्यवस्थासमेत थप गरिएको छ।
