लालबाबु राउतमाथि ओलीको कटाक्ष : नारामा बेटी पढाऊँ, बेटी बचाँऊ, व्यवहारमा साइकल पचाऊँ !
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रममा अनियमितता भएको भन्दै कडा आलोचना गरेका छन् । एमालेको पर्सा-काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको योजनाबाट साइकल वितरण नभएको आरोप लगाए ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतको ‘लोकप्रिय’ योजनालाई लिएर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले ‘हिसाब मिलान’को आरोप लगाएका हुन् । मधेस प्रदेश सरकारलाई लक्षित गर्दै उनले भने, ‘नारामा बेटी पढाऊँ, बेटी बचाऊँ भन्ने व्यवहारमा साइकल पचाऊँ गर्ने ?’
मुख्यमन्त्री राउतले आर्थिक, सामाजिक र शिक्षाको स्तर कमजोर रहेको मधेस प्रदेशको अवस्थालाई मध्यनजर गर्दै ‘मुख्यमन्त्री बेटी पढाँऊ, बेटी बचाँऊ’ अभियान चलाएका थिए । छोरीलाई विद्यालय पठाउनका लागि प्रेरित गर्न उनले विद्यालय जाने बालिकालाई साइकल वितरण कार्यक्रम सञ्चालन गरेका थिए ।
ओलीले भने त्यो कार्यक्रममा साइकल वितरण नभएको भन्दै मुख्यमन्त्रीमाथि आरोप लगाएका थिए । उनले भने, ‘साइकल वितरण भएन, हिसाब मिलान भयो ।’
‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल वितरणमा अनियमितता भएको भन्दै गत असोजमा अख्तियारले मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो । जसको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले विरोध गरेका थिए ।
